माघ २, २०८०
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
काठमाडाैं | फागुन २५, २०८०
पुरानो गठबन्धन भत्किएर नयाँ बन्दा उपेन्द्र यादव फेरि एकपटक सत्तामा पुगेका मात्र छैनन्, आफ्ना क्षेत्रीय प्रतिद्वन्द्वीलाई अलगथलग पार्न समेत सफल भएका छन् ।
उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रीको रूपमा उपेन्द्रकै नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय जनता समाजवादी पार्टी (जसपा)ले गरिसकेको छ । उनका अलावा वन तथा वातावरण मन्त्रालयमा नवलकिशोर साह सुडी र स्वास्थ्य राज्यमन्त्रीको रूपमा दीपक कार्कीलाई पठाउने निर्णय समेत बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले गरेको थियो ।
नेकपा एमाले , नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) सम्मिलित पाँच राजनीतिक दलको गठबन्धन बनेसँगै जसपा अध्यक्ष यादवलाई प्रत्यक्ष फाइदा पुगेको छ ।
पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वकै यसअघिको सरकारमा रहेका मधेश मुद्दामा आधारित राजनीतिक दलहरू जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र थरुहट मुद्दामा आधारित नागरिक उन्मुक्ति पार्टी संघीय सत्ताबाट बाहिरिएका छन् । अन्य क्षेत्रीय प्रतिस्पर्धीहरू बाहिरिँदा जसपा भने सत्तामै छ ।
जसपाका प्रवक्ता मनिष सुमन मधेश प्रदेशमा जसपा नेतृत्वको सरकार कायमै रहने बताउँछन् ।
'मधेश प्रदेश सरकारको नेतृत्वका विषयमा कुनै प्रश्न नै छैन,' सुमनले लोकान्तरसँग भने, 'साझेदार परिवर्तन हुने भएकाले मन्त्रिपरिषदको आकार भने परिवर्तन हुनसक्छ ।'
नेकपा एकीकृत समाजवादी संघीय सरकारमा सहभागी भएपछि प्रदेशमा आफू नेतृत्वको सरकारलाई बहुमत पुग्ने देखेर मात्र जसपाले संघीय सरकारमा जाने निर्णय गर्यो ।
त्यसो त सरकारमा सहभागी हुन लोसपा र नागरिक उन्मुक्ति पार्टीलाई प्रधानमन्त्री प्रचण्डले र जनमतलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आग्रह गरेका थिए ।
लोसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता शरतसिंह भण्डारीलाई प्रधानमन्त्री प्रचण्डले बालुवाटारमै बोलाएर नयाँ सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।
'पुरानै गठबन्धन हो, नयाँ होइन । नेपाली कांग्रेसको ठाउँमा एमालेसहितको गठबन्धन हो । सरकारमा आउनुस् भनेर प्रधानमन्त्रीले हामीलाई बालुवाटार बोलाएर भन्नुभयो,' लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीले लोकान्तरसँग भने, 'त्यसपछि हामीले यो चुनावका बेला बनेको गठबन्धन होइन भन्यौं ।'
अहिलेको गठबन्धनमा मुख्यतः चार राजनीतिक दलको हस्ताक्षर मात्र रहेकाले जसपालाई मुख्य घटक बनाइएकोमा समेत ठाकुरले आपत्ति जनाएका थिए ।
'जसपाप्रति हाम्रो केही रिजर्भेसन छ । सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा पार्टीभित्र छलफल गरेर निर्णय लिन्छौं भनेर बालुवाटारबाट फर्किएका थियौं,' भण्डारीले लोकान्तरसँग भने ।
उता एमाले अध्यक्ष ओली निवास बालकोटमा ओली भेट्न पुगेका जनमतका अध्यक्ष डा. सीके राउतले पनि मधेश प्रदेश सरकारको नेतृत्व बटमलाइन रहेको भन्दै सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा पार्टीको बैठकबाट निर्णय गरिने भन्दै राउत फर्किएका थिए ।
विगतको सहमतिअनुसार जनमत पार्टीले मधेश प्रदेश सरकारको नेतृत्व पाउनुपर्ने भन्दै दाबी गरेको जनमतका प्रवक्ता डा. शरदसिंह यादवले बताए ।
'विगतमा पनि जसपा र जनमतले आलोपालो मधेश प्रदेश सरकारको नेतृत्व गर्ने भन्ने कुरामा गठबन्धनभित्र सहमति भएको थियो,' यादवले लोकान्तरसँग भने, 'तर, जसपाले हाम्रो मन्त्रीलाई विना विभागीय बनाउनेदेखि मन्त्री हेरफेर गर्ने काम गरेकाले हामी प्रदेश सरकारबाट बाहिरिन बाध्य भयौं ।'
जसपाले निषेधको राजनीति गरेकाले पनि एमालेसहितको नयाँ गठबन्धनमा सहभागी हुन आफ्नो पार्टीले मधेश प्रदेश सरकारको नेतृत्वलाई बटमलाइन बनाएको उनले बताए ।
त्यसको भोलिपल्ट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा लोसपा अध्यक्ष ठाकुर, नागरिक उन्मुक्तिका चौधरीसँगै राउत पनि पुगेका थिए । देउवाले लोकतान्त्रिक गठबन्धन बनाएर जानुपर्ने प्रस्ताव राखेका थिए । उक्त बैठकमा डा. राउतले आफ्नो पार्टी लोकतान्त्रिक विचारधाराकै रहेकाले लोकतान्त्रिक गठबन्धनमा आउन तयार रहेको बताए पनि नेपाली कांग्रेस र एमालेसहितकै सरकार बन्नुपर्नेमा जोड दिएका थिए ।
लोसपाका वरिष्ठ नेता भण्डारी पनि वाम ध्रुवीकरणसहितको सरकार बनेको हुनाले सशक्त प्रतिपक्षका लागि लोकतान्त्रिक गठबन्धन बन्न सक्ने बताउँछन् ।
लोसपा संघीय सरकारबाट बाहिरिए पनि मधेश प्रदेशमा जसपा नेतृत्वको सरकारलाई समर्थन रहिरहने मुख्यमन्त्री सरोजकुमार यादव बताउँछन् ।
'लोसपा अध्यक्ष महन्थ ठाकुरसँग मेरो फोनमा कुराकानी भएको छ,' मुख्यमन्त्री यादवले लोकान्तरसँग भने, 'केन्द्रमा हाम्रो समर्थन नरहे पनि प्रदेश सरकारमा हाम्रो पार्टीको समर्थन कायमै रहन्छ भनेर ठाकुरजीले भन्नुभएको छ ।'
मधेश प्रदेश सरकारमा अहिले लोसपाबाट रमेश पटेल मन्त्री छन् ।
मधेश प्रदेश सरकारमा अहिलेको गठबन्धनको ठूलो दलको हिसाबले नेकपा एमालेले र नेकपा माओवादी केन्द्रले पनि दाबी गरिरहेका छन् । माओवादी संसदीय दलका नेता भरत साह मुख्यमन्त्रीमा माओवादी र एमाले दुवैको दाबी कायमै रहेको बताउँछन् ।
'हामीले आ-आफ्नो दाबी छाडेका छैनौं । जसपाले नै सरकारको नेतृत्व पाउने भनेर अहिलेसम्म कुनै सहमति भएको छैन,' साहले लोकान्तरसँग भने, 'अहिलेका मुख्यमन्त्री सरोज यादवलाई छाड्ने हो भने कहिलेसम्म भन्ने प्रश्न हामीले गरेका छौं ।'
कम्तीमा पनि जसपा नेतृत्वको सरकारले बजेट ल्याउन पाउनुपर्ने भने भनिरहेकाले त्यति अवधिसम्मका लागि विचार गर्न सकिने उनले बताए ।
२०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा सप्तरी- २ मा राउतबाट पराजित भएका उपेन्द्र यादव सत्ता गठबन्धनकै सहयोगमा बारा- २ का निर्वाचित सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त पदमा उपनिर्वाचनबाट संसदमा आउन सफल भएका थिए ।
उपनिर्वाचनबाट प्रतिनिधिसभामा आए पनि तत्काल आफैँ सरकारमा नगएर संघीय परिषद्का अध्यक्ष अशोक राईको नेतृत्वमा जसपा सरकारमा सहभागी भएको थियो । तर, अहिले सत्ता समीकरण फेरिएसँगै उपेन्द्र पुनः उपप्रधानसहित स्वास्थ्य मन्त्री बन्न लागेका हुन् ।
उनी अहिले बारा-२ बाट प्रतिनिधि सभामा पुगे पनि आफूलाई सप्तरी-२ कै प्रतिनिधि ठान्छन् । जसपाकै कतिपय नेताहरूका अनुसार यादव आगामी प्रतिनिधि सभाको चुनावमा सप्तरी-२ बाट नै प्रतिस्पर्धा गर्ने तयारी गरिरहेका छन् ।
'२०७४ सालमा सप्तरी-२ बाट निर्वाचित भएपनि २०७९ मा सीके राउतले हराएको बदला लिन उनी २०८४ मा पुनः सप्तरी-२ बाट नै चुनाव लड्नुहुन्छ,' जसपाका एक नेताले लोकान्तरसँग भने, 'त्यही तयारीस्वरूप सप्तरीबाट प्रदेश सभामा स्वतन्त्र जितेका अनिरुद्र सिंह यादवलाई पार्टीमा प्रवेश गराउनुभयो । अहिले सप्तरी- १ बाट निर्वाचित नवलकिशोर साहलाई आफूसँगै सरकारमा लग्दै हुनुहुन्छ ।' साहले सीके राउतका दाइ डा. जयकान्त राउतलाई पराजित गरेका हुन् ।
मधेशमा अझै पनि शक्तिशाली रहेका यादवको आगामी प्रतिस्पर्धा सीके राउत र जनमत पार्टीसँगै हुने हुनाले यादवले जनमतलाई प्रदेशदेखि संघ सरकारबाट समेत रणनीतिक रूपमा अलगथलग पारेका हुन् ।
जनमतका प्रवक्ता यादव पनि जसपाले जनमतलाई निषेध गर्न खोजेको दाबी गर्छन् ।
'जसपालाई भविष्य जनमत पार्टीकै हो भन्ने कुरा राम्ररी थाहा छ । त्यसकारण उसले हामीलाई चौतर्फी घेराबन्दी गर्नु स्वाभाविक नै हो,' जनमतका प्रवक्ता यादवले थपे, 'तर, त्यसका लागि हामी तयार छौं ।'
अहिले उपेन्द्रले बाजी मारे पनि आगामी दिनमा उपेन्द्र अलगथलग हुने लोसपाका एक नेताले बताए ।
'अहिले प्रचण्डजी शक्तिशाली देखिनुभएको छ । तर, आगामी दिनमा राष्ट्रिय राजनीतिमा प्रचण्डजी आइसोलेसनमा पर्नुहुने पक्का छ,' लोसपाका ती नेताले लोकान्तरसँग भने, 'त्यसैगरी मधेशको राजनीतिमा अहिले उपेन्द्रजी शक्तिशाली देखिनुभए पनि आगामी दिनमा उहाँ प्रचण्डजी जस्तै आइसोलेसनमा पर्नुहुन्छ । '
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...