महर्षि मुद्गल वैदिक मन्त्रद्रष्टा ऋषि मात्र होइनन्, महान् वैदिक वैज्ञानिक पनि हुन् । विशेषगरी उनी युद्ध वैज्ञानिक मानिन्छन् । ऋग्वेद दशौं मण्डलको १०२ औं सूक्त उनैद्वारा देखिएको सूक्त हो । यसमा कुल १२ वटा मन्त्र छन् । यी मन्त्रले महर्षि मुद्गलमा रहेको रथ निर्माण तथा युद्धकौशल सम्बन्धी जानकारीकोे राम्रैसँग विवेचना गरेका छन् । उनका पुर्खा महर्षि भारद्वाज हुन् । सप्तऋषिमध्ये एक मानिएका यी ऋषि पनि वैदिक वैज्ञानिकमै पर्छन् । खासगरी यन्त्र तथा अस्त्रशस्त्र विज्ञानमा उनको राम्रै दखल भेटिन्छ । यसबाहेक महर्षि मुद्गलले गोत्रप्रवर्तक ऋषिका रूपमा पनि आफ्नो स्थान सुरक्षित गरेका छन् ।
मुद्गल ऋषि मौद्गल्य गोत्रका प्रवर्तकमा पर्छन् । मुद्गल ऋषि प्रवर्तक रहेकाले नै यस गोत्रको नाम मौद्गल्य रहेको हो । यस गोत्रभित्र हाल उप्रेती, कठायत, कार्की, कुँइकेल, कोइराला, चक्रवर्ती, चट्टोपाध्याय, तिमल्सिना, थापा, पाल, बनर्जी, विष्ट, सिम्खडा, बेलकाँडी, बेलवासे, भट्टाचार्य, मुखर्जी, लेकाली आदि दर्जनौं परिवार रहेका छन् । यिनीहरू नेपाल, भारत लगायत विश्वका विभिन्न मुलुकमा छरिएर रहेर आ–आफ्नो पुर्खाको विद्वत्ता तथा त्याग, तपस्या र पराक्रमको परिचय दिइरहेका छन् ।
वैदिक मन्त्रद्रष्टा ऋषिहरू पारिवारिक र एकल गरी दुई किसिमका पाइएका छन् । यिनमा महर्षि मुद्गलको स्थान पारिवारिक ऋषिका रूपमा रहेको छ । उनकी पत्नीको नाम इन्द्रसेना हो । कसैकसैले यिनलाई मौद्गलानी भन्ने गरेको पनि पाइएको छ । उनको छोराको नाम दिवोदास हो भने छोरीको नाम अहल्या हो । उनीहरूको जन्म एकैसाथ अर्थात् जुम्ल्याहाको अवस्थामा भएको थियो । कृपाचार्य, कृपी, दु्रपद, द्रौपदी तथा कौरव पाण्डव आदि कुरु पाञ्चालमा रहेका महाभारतका मुख्य मुख्य पात्रहरूका जन्म यिनै दुई दाजुबहिनी अहल्या र दिवोदासको वंशमा भएको हो । यी सबै महर्षि मुद्गलकै वंश विस्तार भएकाले उनलाई एक किसिमले वटवृक्षकै रूपमा लिँदा पनि खासै बढी होला जस्तो लाग्दैन । यसबाहेक उनका बाबु भार्म्यस्वले उनीअघिका भारद्वाज ऋषिसम्मका पचासौं पुस्तालाई निरन्तरता दिने जुन काम गरेका छन्, त्यो त आफ्नै स्थानमा छँदैछ ।
मौद्गल्य गोत्रभित्र तीन प्रवर छन्, जसलाई संयुक्त रूपमा मौद्गल्य, आंगिरस र भार्म्यस्व भनिन्छ । यसमध्ये मौद्गल्य त उनी आफैं भइहाले । भार्म्यस्व भनेका उनका बुवा हुन् भने साथमा आंगिरस पनि जोडिन आइपुगेका छन् । आंगिरसहरू ऋषि अंगिराका सन्तानभित्र पर्छन् । अंगिराका सन्तान भएकैले उनीहरूलाई आंगिरस भनिएको हो । यसभित्र दीर्घतमा, कक्षीवान्, घोषा आदि ५६ वटा एकसेएक वैदिक मन्त्रद्रष्टा ऋषि परिवारको गणना गरिएको छ । त्यसैले हाल तिनका सन्तान तथा विचारहरूले विश्वमा के स्थान जमाउन सफल भएको होला, त्यो त झन् यसै पनि सोझै अनुमान लगाउन सकिने कुरा हो ।
महर्षि मुद्गल महर्षि शाकल्यको पाँच शिष्यमध्ये प्रमुख शिष्यमा पर्छन् । शाकल्य ऋग्वेदको मुख्य शाखा मानिएको शाकल संहिताका द्रष्टा ऋषिका रूपमा रहेका छन् । यसबाट उनको वैदिक मन्त्रहरूमा के कति दखल होला त्यो पनि सोझै अनुमान लगाउन सकिने कुरा हो । यसबाहेक पौराणिक दर्शनमा पनि उनको राम्रै पकड रहेको छ । खासगरी भक्तिपरक मानिएको मुद्गल पुराणको व्याख्याता उनै मानिन्छन् । उनीद्वारा व्याख्या भएकैले सो पुराणको नाम मुद्गल रहेको हो भन्ने विद्वानहरूको कथन छ । यसबाट उनी वैदिक मन्त्रद्रष्टा ऋषि मात्र होइनन्, गणेशका भक्त पनि रहेछन् भन्ने बुझिन्छ ।
महर्षि मुद्गल दया, माया, मैत्री तथा करुणा र उपकारका त खानी नै मानिन्छन् । वैदिक ग्रन्थहरूले उनलाई दानी, त्यागी, तपस्वी, धर्मात्मा, जितेन्द्रिय, भगवद्भक्ति तथा सत्यवक्ता आदि गुणका पर्यायवाचीकै रूपमा अर्थ्याएका छन् । ‘सेवा हि परमो धर्मः’ भन्ने मान्यताका धनी मुद्गलको अरूको हितभित्र नै आफ्नो हित खोज्ने मूलभूत विशेषता नै थियो । उनी देवता तथा पितृहरूलाई जुन सम्मानको दृष्टिले हेर्थे साधुसन्त, दीनदुःखी, असहाय र अतिथिहरूलाई पनि सोही बमोजिम हेर्नुपर्छ भन्ने मान्यता राख्थे । उनी हमेशा अरूलाई नखुवाई आफूले मात्र खाँदा गृहस्थीको धर्म नष्ट हुन्छ भन्ने मात्र गर्दैनथिए यसलाई उनले जीवनमा एक किसिमले अखण्डव्रत नै बनाएका थिए ।
एकपटक उनको प्रभावक्षेत्र पाञ्चाल प्रदेशमा ठूलो खडेरी परेको थियो । यसैको कारण उनी र उनका परिवारले निकै दिनदेखि केही पनि खान पाएका थिएनन् । उनलाई लामो उपवासपछि संयोगवश कतैबाट एक मुठी सातु मिलेको त थियो तर खाने बेलामा कुनै एक अतिथि आइपुगेकाले उनैलाई समर्पण गरी पानी आचमन गरेर आफूलाई तृप्त पारेका थिए ।
उनी मात्र होइन परोपकार तथा अतिथि सेवा त एक किसिमले उनको कुल परम्परा वा पैतृक धरोहर नै थियो । उनका केही पुस्ताअघिका पुर्खा रन्तिदेवले पनि यस्तै उदाहरण प्रस्तुत गरेका छन् । एकपटक उनलाई ४८ दिनको उपवासपछि खानका लागि एकलोटा पानी मिलेको थियो । त्यही पनि खानै लागेको बेला कुनै अतिथि आएर मागिदिएकाले उनैलाई समर्पण गरी नारायणलाई नमस्कार गर्न पुगेका थिए । यसबाहेक उनको प्रवरभित्र रहेका आंगिरसहरूको परोपकार र पराक्रम पनि उत्तिकै उदाहरणीय रहेको छ । एकपटक यिनै आंगिरसले तत्कालीन भूगोलमा आपूmलाई परम शक्तिशाली ठान्दै अर्काको गाई अपहरण गर्दै हिड्ने पणिहरूजस्ता खुँखार समूहलाई तितरबितर गरी गाईहरूको उद्धार गरेका मात्र थिएनन् अन्य त्यस्तै दीनदुःखीहरूको सेवामा आफूलाई समर्पित गर्ने कामसमेत गर्दै आएका थिए ।
मुद्गलकी पत्नी मुद्गलानी पनि उत्तिकै ज्ञानी, गुणी र परोपकारी स्वाभावकी थिइन् । उनको त्याग, तपस्या, आदर्श तथा कल्याणकारी जीवनवृत्तका प्रशंसा वेद पुराणका विभिन्न ग्रन्थमा प्रशस्तै भएका छन् । यी महान् आदर्श सती नारीले पूरा जीवन पतिदेवको साथमा लागेर परोपकार र परहितमा समर्पित गरेकी छिन् । मुद्गलका यवीनर, बृहदिषु, काम्पिल्य र सञ्जय गरी अन्य चार भाई पनि छन् । उनीहरू पनि उत्तिकै विद्या, बुद्धि र पराक्रमका धनी मानिन्छन् । मुद्गलसहित उनीहरू पाँचजनाको प्रभाव क्षेत्रमा रहेकाले सो क्षेत्र अहिले पनि पाञ्चाल क्षेत्रको नामले इतिहासमा अंकित छ ।
निश्चित रूपमा महर्षि मुद्गल सम्प्रति हामी माझ छैनन् । तथापि उनको त्याग, तपस्या तथा उनले समाजको हितमा दिएका योगदान भने कीर्तिपताका बनेर अहिले पनि इतिहासका पानामा फहराइरहेको छ र वर्तमान सभ्यताले धान्दासम्म फहराई नै रहनेछ ।
Advertisment
Advertisment