×

NMB BANK
NIC ASIA

जनकपुरधाम १० पुस– धनुषा सोनिगामा १ का ४५ वर्षीय विनोद कुमार अधिकारी (मण्डल), तीन वर्ष अगाडि हिन्दूधर्म परित्याग गरी इसाई धर्म मान्न शुरु गरे । हिन्दूधर्ममा जातपातको विभेद, छुवाछुत, धनी गरिब लगायतको विभिन्न विभेदका कारण बाल्यकाल देखि नै हिन्दू धर्मप्रति खिन्नता बोध भएको थियो, मण्डल भन्छन–‘सत्यको खोजीमा बाइबल अध्ययन गर्दै जादाँ समाजमा फैलिएका अन्धविश्वासहरुबाट सुरक्षित हुन र विभिन्न जालझेलबाट उन्मुक्ति पाउन तथा मोक्ष प्राप्तिको सिधा बाटो इसाई धर्म नै रहेको हुनाले वर्षौ देखि अपनाएको हिन्दू धर्म परित्याग गरी इसाई धर्मलाई ग्रहण गरें ।’ 

Muktinath Bank

धनुषा विन्धी ५ का ३५ वर्षिय शम्भु कुमार चौधरी (भुमिहार) १० वर्षअघि हिन्दू धर्म त्याग गरी क्रिश्चियन भए । शम्भुका अनुसार जातिय विभेदका कारण हिन्दू धर्म प्रतिको आस्था समाजमा दिन प्रति दिन घट्दै गएको छ । क्रिश्चियन धर्ममा कुनै पनि किसिमको जातिय विभेद नरहेका कारण उक्त धर्म अपनाएको शम्भु बताउँछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धनुषा विन्धी कै ६६ वर्षिय अवकाश प्राप्त शिक्षक लक्ष्मी साह पनि ८ वर्ष देखि इसाई बनेका छन । क्रिश्चियन धर्म मान्ने श्रीमति र आफु हिन्दू धर्म मान्ने भएपनि धर्म कै कारण श्रीमान र श्रीमति बिच पटक पटक कलह हुने गर्दथ्यो र घरमा सधै जसो अशान्ति हुन्थ्यो भन्दै साह भन्छन, ‘अब हामी दुवै जना क्रिश्चियन भएपछि घरमा सुख शान्ति आएको छ ।’ 


Advertisment
Nabil box
Kumari

जनकपुर १३ का २८ वर्षिय टुमेश्वर प्रसाद साह मुजेलियाका सुरेन्द्र रवि दास इसाई बनेपछि, उनैको संगतमा परेर तीन वर्ष अघि आफुपनि इसाई भएको बताउँछन् । यी त प्रतिनिधी उदाहरण मात्र हुन । विभिन्न कारणहरु देखाउँदै यस्ता सयौं व्यक्तिहरु दिनानुदिन धर्म परिवर्तन गरी इसाई बनिरहेका छन् । 

Vianet communication

मन्दिरै मन्दिरको शहरमा चर्च

यसरी मन्दिरै मन्दिरको शहरको रुपमा तथा विश्वका करोडौ हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र रहेको जनकपुरधाममा पछिल्ला बर्षहरुमा चर्चहरु पनि धमाधम बन्न लागेका छन् । जनकपुर देखि धनुषाका ग्रामीण क्षेत्रहरुमा पनि इसाईहरुले आफ्नो धर्म प्रचार तथा हिन्दूहरुको इसाईकरण अभियानलाई तिब्रता दिएको देखिन्छ । केही वर्ष अघिसम्म धनुषामा औलामा गन्न सक्निे इसाईहरु अहिले सय होइन हजारौको संख्यामा खुलेरै देखा पर्न थालेका छन् । 

गौ संरक्षण मञ्चका केन्द्रिय अध्यक्ष जगदीश महासेठ भन्छन– ‘हिन्दू धर्म मान्ने गरिब व्यक्तिहरुलाई विदेशमा पठाइदिने, तिनका छोरा छोरीहरुलाई विदेशमा उच्च शिक्षा पढन आर्थिक मद्दत गरिदिने, एनजिओ, आइएनजिओमा जागिर लगाइदिने, विरामीहरुलाई उपचार गराईदिने र गरिबी हटाउन आर्थिक सहयोग पनि जुटाइदिने लगायतका प्रलोभन दिएर इसाइकरण गरिदैछ ।’ 

२०५० सालमा झोझिकटैया ८ का राजकुमार यादव हिन्दू धर्म परिवर्तन गरी इसाई भए । यादव एमाले धनुषाका भातृ संगठन युवा संघका जिल्ला अध्यक्ष पनि हुन । उनी अहिले जनकपुरको एमसिएफ चर्चका धर्म गुरु ‘पास्टर’ समेत बनेका छन । पास्टर यादव भन्छन– ‘हामी कसैलाई प्रलोभन दिएर धर्म परिवर्तन गर्न भन्दैनौं । एक इश्वरवादी विचारलाई हामी मान्दछौं र मुर्ति पुजा गर्नेहरुले हामीलाई विभिन्न प्रकारका आक्षेप लगाउनु अस्वभाविक होइन ।’

क्रिश्चियनमा आफुले आर्जन गरेको आयको दशांस गरिव तथा विपन्नहरुको सेवामा खर्च गर्ने गरेको यादव बताउछन् । यादव भन्छन, ‘संसारकै धनी चर्च कोरिया, भारतको चेन्नई तथा अन्य चर्चहरुबाट लाखौं अनुयायीहरुबाट आर्थिक सहयोग जुटाई नेपाल सरकारको मार्फत गरिबहरुलाई मद्दत गर्छौं ।’ धनै बाँड्ने कुरा हो भने नेपालका कतिपय पास्टरका छोरा छोरीहरु समेत राम्रो विद्यालयमा पढन नपाएको यादवको दावी छ, भन्छन– ‘कतिपय व्यक्तिहरु लोभ राखेर इसाई बन्ने गरेका छन, तर त्यो लोभ पुरा नभएपछि पुनः हिन्दू धर्ममा फिर्ता हुनेहरुको संख्या पनि उल्लेख्य छ ।’
    
धनुषामा हिन्दू धर्म परित्याग गरी क्रिश्चियन धर्म अपनाउँने हरुको संख्या दिनन्दिन वढदै गएको छ । हिन्दू धर्म परित्याग गरी क्रिश्चियन धर्म अपनाउँने हरुको संख्या वढ्दै गएको हो भन्ने सबालमा जनकपुर १४ का इसाई धर्म प्रचारक ‘पास्टर’ इन्द्र नेपाली भन्छन–‘कतिपय मान्छेहरु इसाई धर्म अपनाउँदा रोग निको भएको, कतिपयको शरीरबाट भुत आत्मा भागेको तथा कतिपय मान्छेहरु जातिय छुवाछुत तथा मानव मानव बीचको भेदभावबाट ग्रस्त भएर अन्य धर्म त्यागेर इसाई बनिरहेका छन ।’ 

जनकपुरको रत्न सागर मन्दिरका महन्थ वैकुण्ठ दास वैष्णव पनि हिन्दू धर्ममा जातिय भेदभाव र छुवाछुत देखिएकै कारण तिरस्कृत र अपहेलित हुनु भन्दा हिन्दू धर्मावलम्बीहरुको धर्म परित्याग गर्ने प्रवृति वढदै गएको छ बताउछन् । ‘यद्यपि इसाई धर्म प्रचारकहरु आर्थिक रुपले पनि सबल भएका हुनाले धर्म परिवर्तन गर्न विभिन्न आर्थिक प्रलोभन तथा अन्य प्रलोभन दिने गरेको छ’ दास भन्छन् ।

जानकी मन्दिरका सहायक महन्थ रोशन दास हिन्दु धर्ममा भेदभाव नभएको बताउछन् । “सनातन धर्म रहेको हिन्दू धर्ममा कुनै पनि प्रकारको भेदभाव छैन । यदि भेदभाव रहेको भए भगवान रामले सवरीको जुठो वैर कसरी खानु भयो ? केवट सँग कसरी गाला मिल्नु भयो ? भील राजासँग कसरी मित्रता गास्नु भयो ?” उनी भन्छन,“ पैसाको प्रलोभन दिएर गरिब तथा विपन्न व्यक्तिहरुलाई चुनी चुनी धर्म परिवर्तन गराईएको छ ।”

हिन्दूधर्म मान्नेहरुका अनुसार धर्म परिवर्तन गरेर इसाई भएकाहरुको जीवन स्तर र रहनसहनमा अप्रत्यासित परिवर्तन पनि नभएको होइन । हिजोसम्म खान लाउने धौ धौ पर्नेहरु इसाई भएपछि कतिपय मानिसहरु धनी भएका छन । कतिपयले एनजीओ खोलेका छन भने कतिपयले विद्यालय, स्वास्थ्य संस्था चलाई जिविकोपार्जन गरिरहेका छन् ।

नेपालमा हिन्दू धर्म मात्र होइन अन्य धर्महरु पनि परित्याग गरी क्रिश्चियन धर्म अपनाउने हरु छन तर हिन्दूको तुलनामा अन्य धर्म परित्याग गर्ने संख्या न्यून देखिन्छ । “पैसा दिएर हामी कसैलाई धर्म परिवर्तन गर्न भन्दैनौं, उनीहरु स्वेक्षा पुर्वक स्वतन्त्र भएर इसाई धर्म प्रति आस्था र विश्वास गरेर धर्म परिवर्तन गरिरहेका छन् । इसाई धर्म मान्नेहरु पनि गरिब छन्” पास्टर इन्द्र नेपालीले लोकान्तरसँग भने । 

जनगणना २०६८ अनुसार धनुषामा ६ सय ५२ जना इसाई मात्र रहेको उल्लेख गरिए पनि धनुषामा मात्रै कम्तिमा ६ हजार भन्दा वढी संख्यामा इसाई धर्मावलम्बीहरु रहेको दावी गर्दै पास्टर नेपाली भन्छन,“ जनगणना हुँदा कतिपय व्यक्ति उपस्थित नहुन पनि सक्छ ।” 

इसाई धर्मावलम्वीहरुका अनुसार जनकपुरमा मात्रै ५ वटा चर्च र विभिन्न गाउँहरुमा २० गरी धनुषामा कुल २५ वटा चर्चहरु रहेका छन । धनुषामा पनि विगतका समय देखि नै इसाईहरु रहेपनि नेपाल धर्म निरपेक्ष राष्टूको रुपमा संविधानमा उल्लेख गरिए पछि खुलेरै मान्छेहरु धर्म परिवर्तन गरिरहेको दावी गर्दै पास्टर नेपाली भन्छन,“समाजमा धर्म परिवर्तन गर्नेहरुलाई समाजले नराम्रो काम गरेको भनेपनि क्रिश्चियनहरु त्यसको परवाह गर्दैनन् ।’

नेपालको अन्तरिम संविधान २०६३ मा मौलिक हकको धर्म सम्बन्धि हकमा प्रत्येक व्यक्तिलाई प्रचलित सामाजिक एवम सांस्कृतिक परम्पराको मर्यादा राखि परापुर्वकाल देखि चलिआएको आफ्नो धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने हक हुने छ भनेर उल्लेख छ । तर कसैले कसैको धर्म परिवर्तन गराउन पाउने छैन र एक अर्कोको धर्ममा खलल पार्ने गरी कुनै काम, व्यवहार गर्न पाइने छैन भन्ने पनि उल्लेख गरिएको छ । 

मिशन इसाईकरण

२७ असोज २०७३ का दिन महोत्तरीको राम गोपालपुरमा इसाई धर्म मान्ने राम एकवाल रायको अगुवाईमा निशुल्क स्वास्थ्य शिविर आयोजन गरिएको थियो । उक्त शिविरमा करिब १ सय भन्दा वढी व्यक्तिहरुको स्वास्थ्य परीक्षण सँगसँगै निःशुल्क औषधि समेत वितरण गरिएको थियो । त्यसैगरी २६ असोज २०७३ मा महोत्तरीकै रतौलीमा इसाई धर्मावलम्बी राजेश्वर साफीको अगुवाईमा गरिएको निशुल्क स्वास्थ्य शिविरमा करिब ५० जनाको उपचार गर्नुका साथै निःशुल्क औषधि वितरण गरिएको थियो ।    त्यसरी शिविर आयोजना गर्नुको भित्री उद्देश्य भने सेवाभाव नभएर हिन्दु धर्मावलम्बीहरुलाई इसाईकरण गर्नु रहेको थियो । 

लोकान्तरले गरेको खोजबाट के देखिएको छ भने काठमाण्डौका एउटा चर्चित चर्च साथी संगतिका धर्म प्रचारक रवि रायको अगुवाईमा विदेशी चिकित्सकहरुलाई ल्याई गरिब तथा असहाय व्यक्तिहरुको उपचारको बहानामा धर्म परिवर्तन गर्न लगाउनु नै प्रमुख मिशन रहेको पाइएको छ । उक्त शिविर संचालनको मिशनमा करिब १२ देखि १४ जना सम्म विदेशी नागरिकहरु सक्रिय थिए । 

उनीहरु जनकपुरको सिताशरण होटेलमा बसेका थिए । त्यस्तो शिविर संचालनका लागि जिल्ला प्रशासन तथा जनस्वास्थ्यबाट कुनै इजाजत पनि लिइएको थिएन । उनीहरुलाई जोड्ने काम जनकपुरको मिथिला क्रिश्चियन फेलोसिप चर्चका धर्म प्रचारक विकाउ राउतले गरेका थिए । 

सेवा प्रदान गर्ने उद्देश्य मात्र भएपनि मुख्य उद्देश्य भनेको धर्म परिवर्तन गराउनु नै रहेको स्थानीयवासीहरु दावी गर्छन । किनभने महोत्तरीको रतौलीमै राजेश्वर साफीले एउटा सामुदायिक दलान बनाएका छन् । 

स्थानीयवासीहरुका अनुसार उनको आर्थिक हैसियत यति छैन कि लाख रकम खर्च गरी दलान बनाउन सकोस । त्यो दलान बनाउन पनि इसाईका संस्थाहरुले नै आर्थिक रकम उपलब्ध गराएका छन् । 

खास गरेर त्यस्ता शिविरहरुमा उपचारको बहानामा कुनै रोगीलाई यो रोग धेरै भयावह छ, उपचारले ठिक नहुने अवस्था छ, प्रभु यसुसँग प्रार्थणा गरिदिन्छु अनि निको हुन्छ भनेर एकातर्फ औषधि पनि दिने र अर्को तर्फ प्रार्थणाको भ्रम छरेर धर्म परिवर्तन गर्नका लागि विदेशीहरुले नेपालको मध्य तराई मधेसका ग्रामिण क्षेत्रहरुमा मिशन नै चलाएको छ । कतिपय गरिब रोगीहरुलाई उपचारका लागि केही रकम समेत व्यवस्था गरिदिने र धर्म परिवर्तन गराउने मिशनमा इसाईहरु लागि परेको देखिएको छ ।

खास गरेर यूरोपेली यूनियनको लगानीमा संचालनमा रहेका विभिन्न गैरसरकारी संघसंस्थाहरु मार्फत धर्म परिवर्तन गराउने अभियान तिब्र रुपमा अगाडी वढेको छ । 

दक्षिण अमेरिकाको पारागोईका एन्टोनियो चावेज नामक अमेरिकी नागरिक धनुषामा धर्म परिवर्तन गराउन विगत १७ बर्ष देखि सक्रिय छन् । उनी टुरिस्ट भिजामा जनकपुर आउँछन्, ६ महिना बस्छन् र फर्किन्छन् । फर्केर गएको केही दिनमै उनी फेरी अर्को टुरिस्ट भिजा लिएर नेपाल आई जनकपुरमा बस्ने गरेका छन् । 

यूकेको एउटा प्रोजेक्ट ग्लोबल पार्टनर्स नेपाल प्रोजेक्ट लिएर उनी जनकपुर छिरेका थिए । उक्त प्रोजेक्ट फेज आउट भईसकेपनि उनी जनकपुरमा आईरहन्छन् । स्रोतका अनुसार पटक पटक आएर लामो समय सम्म होटेलमा बस्न नसकिने हुनाले जनकपुरको पिडरिया माई टोल स्थित नागेन्द्र प्रसाद साहको घरमा डेरा लिएर बस्ने गरेका छन् । उनको मुख्य मिशन नै हिन्दु धर्मावलम्बीहरुलाई इसाई बनाउनु रहेको बताइन्छ ।

धनुषाको लालगढ स्थित कुष्ठरोग अस्पतालको मिशन पनि इसाईकरण गर्नु नै रहेको बताइन्छ । यहाँसम्म कि उक्त अस्पतालमा काम गर्ने हरेक कर्मचारीहरु इसाई नै रहेको बताइन्छ । त्यहाँ काम गर्ने कर्मचारीहरुले आफ्नो धर्म परिवर्तन गरेका छन् । लालगढमा अधिकांश मानिसहरु पनि हिन्दु धर्मलाई त्यागेर इसाई बनिसकेका छन् ।

उदाहरणको लागि जयप्रकाश मण्डल एउटा गैरसरकारी संस्था आफन्त नेपालका निर्देशक हुन । फिनलेन्डको फिडा इन्टरनेश्नल मार्फत संचालित उक्त संस्थाका निर्देशक मण्डल इसाई धर्मावलम्बी छन् । विगतमा उनी हिन्दु थिए । अहिले उनी त्यही संस्था मार्फत धर्म प्रचार तथा विस्तारका लागि सक्रिय मात्र छैनन्, चर्चका पास्टर पनि छन् ।

जनकपुरको मुजेलिया स्थित एउटा विद्यालय संचालित छन् । ज्ञानी इग्लिस बोडिङ् स्कुलका संचालक रमदैया निवासी दिनेश कुमार यादव इसाई धर्मावलम्बी हुन । स्थानीयवासीहरुका अनुसार विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई प्रभु येसुको बारेमा उनी बढी नै पठनपाठन गराउने गर्छन् । उनले त्यहाँ एउटा अनाथ आश्रम पनि संचालन गरेका छन् । जसमा करिब २० देखि २५ वटा बच्चाहरुलाई राखिएको बताइन्छ । उक्त अनाथ आश्रम संचालनका लागि विदेशी संस्थाहरुले अनुदान दिने गरेको पाइन्छ ।

अप्पन टेलिभिजन तथा अप्पन अखबार दैनिकका संचालक रामेश्वर यादव पनि इसाई धर्मावलम्बीका साथै एउटा चर्चका पास्टर पनि हुन । उनी जनकपुरको थापा चौक स्थित इभानजेनिकल प्रोभिडेन्स चर्चका पास्टर हुन । जनकपुरको अञ्चल प्रहरी कार्यालय अगाडी रहेको एसेम्बली अफ गड नामक चर्चका पास्टर हुन इन्द्रा नेपाली । 

ठिल्ला भटिहनका विजय कुमार साह रेल्वे स्टेशन स्थित चर्चका पास्टर हुन । सबैभन्दा वढी इसाई धर्मावलम्बी आवद्ध रहेको जनकपुर चर्च भनेर चिनिने मिथिला क्रिश्चियन फेलोसिपका पास्टर हुन राजकुमार यादव । उक्त चर्चमा करिब २ सय ५० जना आवद्ध रहेको बताइन्छ । यादव नेकपा एमाले धनुषाका जिल्ला कमिटि सदस्य हुनुका साथै यूवा संघ धनुषाका अध्यक्ष पनि हुन ।

अन्य धर्मको संख्या घट्दो, इसाईको संख्या वढ्दो

राष्ट्रिय जनगणना २०५८ अनुसार नेपालमा कुल जनसंख्याको १ करोड ८३ लाख ३० हजार १ सय २१ जना अर्थात ८०.६२ प्रतिशत हिन्दू धर्म, २४ लाख ४२ हजार ५ सय २० जना अर्थात १०.७४ प्रतिशत बौद्ध धर्म, ९ लाख ५४ हजार २३ जना अर्थात ४.२० प्रतिशत इस्लाम, ८ लाख १८ हजार १ सय ६ जना अर्थात ३.६ प्रतिशत किराँत, ४ हजार १ सय ८ जना अर्थात ०.०८ प्रतिशत जैन, १ लाख १ हजार ९ सय ७६ जना अर्थात ०.४५ प्रतिशत क्रिश्चियन, ५ हजार ८ सय ९० जना अर्थात ०.०३ प्रतिशत सिख र ८ हजार १ सय ९० जना अर्थात ०.३५ प्रतिशत अन्य धर्म मान्ने व्यक्तिहरु रहेका थिए । 

धनुषामा कुल जनसंख्याको ६ लाख ४ हजार ७ सय ६३ जना अर्थात ९०.०८ प्रतिशत हिन्दू धर्म, ९ हजार ६ सय ९६ जना अर्थात १.४४ प्रतिशत बौद्ध धर्म, ५६ हजार १ सय २४ जना अर्थात ८.३६ प्रतिशत इस्लाम, २५ जना अर्थात ०.००४ प्रतिशत किराँत, २३ जना अर्थात ०.००३ प्रतिशत जैन, २ सय ३० जना अर्थात ०.०३ प्रतिशत क्रिश्चियन, १७  जना अर्थात ०.००३ प्रतिशत सिख र ४ सय ८६ जना अर्थात ०.०७२ प्रतिशत अन्य धर्म मान्ने व्यक्तिहरु रहेका थिए । 

राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा  कुल जनसंख्याको ८१.३ अर्थात २ करोड १५ लाख ५१ हजार ४ सय ९२ जना हिन्दू धर्म, २३ लाख ९६ हजार ९९ जना अर्थात ९ प्रतिशत बौद्ध धर्म,  ११ लाख ६२ हजार ३ सय ७० जना अर्थात ४.४ प्रतिशत इस्लाम, ८ लाख ७ हजार १ सय ६९ जना अर्थात ३.१ प्रतिशत किराँत,   ३ लाख ७५ हजार ६ सय ९९ अर्थात १.४ प्रतिशत क्रिश्चियन, ३ हजार २ सय १४ जना जैन धर्म   मान्ने व्यक्तिहरु रहेका छन ।

त्यसैगरी राष्ट्रिय जनगणना २०६८ अनुसार धनुषामा ३ लाख ७८ हजार ५ सय ३८ पुरुष र ३ लाख ७६ हजार २ सय ३९ महिला गरी कुल ७ लाख ५४ हजार ७ सय ७७ कुल जनसंख्या रहेका छन । जसमध्ये ३ लाख ३९ हजार १ सय ७९ जना पुरुष र ३ लाख ३५ हजार १ सय ८८ महिला गरी कुल ६ लाख ७४ हजार ३ सय ६७ जना हिन्दू धर्मावलम्वी रहेका छन । 

त्यसैगरी ५ हजार ५ सय १ पुरुष र ५ हजार ७ सय १९ महिला गरी कुल ११ हजार २ सय २० जना बुद्ध धर्मावलम्बी, ३० हजार ७ सय २४ पुरुष र ३२ हजार ३ सय ७५ महिला गरी कुल ६३ हजार ९९ जना इस्लाम, ७७ जना पुरुष र ८८ जना महिला गरी कुल १ सय ६५ जना किराँत, ३ सय २३ जना पुरुष र ३ सय २९ जना महिला गरी कुल ६ सय ५२ क्रिश्चियन, २ सय ८३ जना पुरुष र २ सय ८५ जना महिला गरी कुल ५ सय ६८ जना प्रकृति, ५ जना पुरुष र ४ महिला गरी कुल ९ जना जैन, ६ जना पुरुष र ५ जना महिला गरी कुल ११ जना सिख, २ जना पुरुष र २ जना महिला गरी कुल ४ जना बहाई धर्म मान्ने व्यक्तिहरु रहेका छन । उक्त जनगणना अनुसार धनुषामा २ हजार ४ सय ३८ पुरुष र २ हजार २ सय ४४ महिला गरी कुल ४ हजार ६ सय ८२ जनाको धर्म खुल्न सकेको छैन । 

उक्त जनगणना अनुसार नेपालको शहरी क्षेत्रमा भन्दा ग्रामिण क्षेत्रमा इसाई धर्मावलम्वीहरुको संख्या वढी छ । सहरमा ४० हजार २ सय ४३ पुरुष र ४५ हजार ५ सय ८० महिला गरी कुल ८५ हजार ८ सय २३ जना क्रिश्चियन रहेका छन । त्यसैगरी ग्रामिण क्षेत्रहरुमा १ लाख ३५ हजार २ सय २७ पुरुष र १ लाख ५४ हजार ६ सय ४९ महिला गरी कुल २ लाख ८९ हजार ८ सय ७६ जना क्रिश्चियन रहेका छन । 

नेपालको भौगोलिक क्षेत्रको आधारमा हिमालमा सबैभन्दा कम ८ हजार ७ सय ७१ पुरुष र ९ हजार ६ सय १६ गरी कुल १८ हजार ३ सय ८७ क्रिश्चियन छन भने पहाडमा सबैभन्दा वढी १ लाख २ हजार ७ सय ७४ पुरुष र १ लाख १६ हजार ८ सय १५ महिला गरी कुल २ लाख १९ हजार ५ सय ८९ क्रिश्चियन छन । तराईमा पुरुषको तुलनामा महिलाहरु वढी क्रिश्चियन छन । तराईमा ६३ हजार ९ सय २५ पुरुष र ७३ हजार ७ सय ९८ महिला गरी कुल १ लाख ३७ हजार ७ सय २३ क्रिश्चियन रहेका छन ।

त्यसैगरी विकास क्षेत्रको आधारमा मध्यमाञ्चल विकास क्षेत्रमा सबैभन्दा वढी र सुदुर पश्चिमाञ्चल विकास क्षेत्रमा सबैभन्दा कम क्रिश्चियन रहेका छन । पुर्वाञ्चल विकास क्षेत्रमा ३६ हजार ७ सय ५५ पुरुष र ४१ हजार ९ सय ९ महिला गरी कुल ७८ हजार ६ सय ६४, मध्यमाञ्चल विकास क्षेत्रमा ७८ हजार २ सय ८० पुरुष र ८७ हजार २ सय ८९ महिला गरी कुल १ लाख ६५ हजार ५ सय ६९, पश्चिमाञ्चल विकास क्षेत्रमा २४ हजार ४ सय ७२ पुरुष र २९ हजार २ सय ७५ महिला गरी कुल ५३ हजार ७ सय ४७, मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा २३ हजार १ सय पुरुष र२६ हजार ८ सय १३ महिला गरी कुल ४९ हजार ९ सय १३ र सुदुर पश्चिमाञ्चल विकास क्षेत्रमा १२ हजार ८ सय ६३ पुरुष र १४ हजार ९ सय ४३ महिला गरी कुल २७ हजार ८ सय ६ क्रिश्चियन रहेका छन ।

जिल्लाका आधारमा तराईका जिल्लाहरु मध्ये सप्तरीमा  ३ सय, सिरहामा ३ सय ५३, धनुषामा ६ सय ५२, महोत्तरीमा ८ सय ७८, सर्लाहीमा १ हजार ७ सय ५२ रौतहटमा १ हजार ४९, बारामा १ हजार ६ सय २१, पर्सामा ७ सय ५३, चितवन १९ हजार ६ सय ८२, नबल परासीमा ११ हजार १ सय ८०, रुपनदेहीमा ५ हजारा ८ सय २४, कपिलवस्तुमा १ हजार १ सय १५, दांगमा ७ हजार ४ सय ३१, बाँकेमा ६ हजार ४ सय ६६, वर्दियामा ९ हजार २ सय ४१ क्रिश्चियन रहेका छन ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x