
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था (अस्पताल)लाई आइतबार पनि नियमित स्वास्थ्य सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले केही अस्पतालले सार्वजनिक बिदाको दिन (आइतबार) बहिरङ्ग (ओपिडी) सेवा बन्द गरेकाले सेवाग्राही मर्कामा परेका भन्दै नियमित सञ्चालन गर्न आग्रह गरिएको बताए ।
“स्वास्थ्य अत्यावश्यक तथा निरन्तर प्रदान गर्नुपर्ने सेवा भएकाले बिरामीलाई थप सहजता बनाउनुपर्ने आवश्यक छ”, उनले भने, “त्यही भएर बिरामीहरूलाई असहजता नहोस् भन्ने उद्देश्यले आइतबारको दिन पनि स्वास्थ्य सेवा सञ्चालन गर्ने आग्रह गरिएको हो ।”
सहप्रवक्ता डा अधिकारीले आइतबार पनि स्वास्थ्य संस्था सञ्चालन गर्ने मन्त्रालयको निर्णयप्रति चिकित्सक, स्वास्थ्यकर्मी तथा केही सेवा प्रदायक अस्पतालले राखेका चासोलाई सम्बोधन गर्न मन्त्रालय सकारात्मक एवं प्रतिबद्ध रहेको बताए ।