
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्का सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार विज्ञप्तिमार्फत् मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गरेको हो ।
सरकार बनेको १७ दिनमै प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको हो । सरकार बनेको ६० दिनभित्र सम्पत्ति विवरण प्रधानमन्त्री कार्यालयमा पेश गर्नुपर्ने कानूनी व्यवस्था छ ।
००००
प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएसँगै यसबारे चर्चा चुलिएको छ । अधिकांश मन्त्रीहरु धनी देखिएको भन्दै आम्दानीको स्रोतबारे समेत बहस भएको छ । सम्पत्ति विवरणमा मन्त्रीहरुको सुन, बैंक ब्यालेन्स र घरजग्गामा प्रशस्त लगानी देखिएको छ ।
००००
प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहसँग प्रशस्त सम्पत्ति देखिएको छ । तर उनको सम्पत्तिको अधिकांश हिस्सा पैतृक रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सार्वजनिक गरेको प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरणमा उल्लेख छ ।
विवरणअनुसार शाहले आफ्नो सम्पत्ति विवरणमा १ करोड ४६ लाख रुपैयाँ नगद रहेको खुलाएका छन् । सो रकम फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालबाट आम्दानी गरेको उनले उल्लेख गरेका छन् । यस्तै मधेसमा जग्गा र काठमाडौँमा पनि घरजग्गा उनको विवरणमा देखिएको छ ।
००००
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सार्वजनिक गरिएको सम्पत्ति विवरणमा अर्थमन्त्री स्वर्णिम वाग्लेले १२ करोड ७५ लाखको घरजग्गा खुलाएका छन् ।
ललितपुरको सानेपा र भैँसेपाटी, काभ्रेको धुलिखेल र तनहुँको बन्दीपुरमा जग्गा रहेको उनले जनाएका छन । भैँसेपाटीको ४ आना ३ पैसा जग्गा ५ करोड, सानेपाको जग्गा २ करोडमा किनेको विवरणमा उल्लेख छ ।
धुलिखेलमा ९ आना जग्गा ३ करोड ७५ लाख तथा बन्दीपुरमा २ करोडमा जग्गा किनेको उल्लेख छ ।
००००
सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बुबा, आमा, मावलीका हजुरआमा र दिदीबहिनीसहितको संयुक्त नाममा सात ठाउँमा गरी करिब रु साढे २० करोडको अचल सम्पत्ति रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
उनले काठमाडौँ, मोरङ र ललितपुरमा घरजग्गा रहेको उल्लेख गरेका हुन् । साथै २५ तोला सुन, सय तोला चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
००००
परराष्ट्रमन्त्री शिशिर खनालको चल–अचल सम्पत्तिको विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार खनालको काठमाडौँको टोखामा घर र देशका विभिन्न जिल्लाहरूमा जग्गा जमिन रहेको देखिएको छ ।
उनको काठमाडौँ महानगरपालिका–१० स्थित टोखामा ६ आना क्षेत्रफलमा बनेको एउटा घर रहेको छ, २०५८ सालमा खरिद गरेको उल्लेख छ।
जग्गाजमिन तर्फ मन्त्री खनालको पुख्र्यौली र स्वआर्जन गरी तीनवटा जिल्लामा स्वामित्व देखिएको छ । उनको तनहुँको भानुमा १५ रोपनी पुख्र्यौली जग्गा रहेको छ भने नवलपरासी पूर्वको देवचुलीमा १२ रोपनी र बाँकेको नेपालगन्जमा २ कठ्ठा जग्गा रहेको विवरणमा देखाइएको छ । यस्तै गृहमन्त्री सुधन गुरुङको पनि प्रशस्त सम्पत्ति देखिएको छ ।
००००
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा युट्युबर पक्राउ परेको विषयमा गृह मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गरेको छ।
मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै यस प्रकारका घटना र सञ्चारमाध्यममा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। चौतर्फी विरोधपछि युट्युबर रिहा भइसकेका छन् ।
००००
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हप्तामा दुई दिन सार्वजनिक बिदा लागू भएको अवस्थामा आइतबार पनि स्वास्थ्य सेवा निरन्तरता सुनिश्चित गर्न आग्रह गरेको छ।
मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीको विश्राम अधिकार सुरक्षित गर्दै अस्पताल सेवा निरन्तर राख्ने सन्तुलित व्यवस्थापन सरकारको प्राथमिकतामा रहेको भन्दै आइतबार पनि सेवा प्रदान गर्न आग्रह गरेको हो ।
००००
सरकारी कार्यालयमा दर्ता भएका, शुरूआती टिप्पणीलगायत फाइल विभिन्न तह र टेबलमा अनावश्यक रूपमा थन्काएर निर्णयमा ढिलाइ हुने प्रवृत्ति रोक्न सोमबारदेखि ‘शून्य बाँकी फाइल अभियान’ शुरू हुँदैछ ।
तल्ला निकायबाट कार्यान्वयन गर्नुपर्ने फाइल अनावश्यक रूपमा माथिल्लो तहमा पठाइने तथा सेवाप्रवाह प्रभावित हुने अवस्थालाई न्यूनीकरण गर्न सबै सरकारी कार्यालयमा शून्य बाँकी फाइल सप्ताहअभियान सञ्चालन गर्न लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
त्यसका लागि सरकारले ‘शून्य बाँकी फाइल सप्ताह अभियान सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८२’ सार्वजनिक गरिसकेको छ ।
कुनै पनि चालु अवस्थामा रहेका फाइल अनिश्चित समयसम्म अड्केर नबसोस्, जिम्मेवारी स्पष्ट होस् र काम हुने वा नहुने विषयको समयमा टुङ्गो लागोस् भन्ने अभियानको उद्देश्य छ । अभियान आगामी वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ ।
००००
३८ सिटसहित संसद्को प्रमुख प्रतिपक्षी बेञ्चमा खुम्चिएको नेपाली कांग्रेसभित्र आन्तरिक लफडा उत्कर्षमा छ । पार्टीभित्र फरक विचार‚ फरक दृष्टिकोण र फरक मान्यताले यतिसम्म जरा गाडेको छ कि पार्टीले संसदीय दलको नेतासमेत चयन गर्न सकेको छैन ।
२१ फागुनमा निर्वाचन भएर नतिजा आएको पनि महिना दिन बितिसकेको छ । संविधानको धारा ९१ अनुसार आह्वान भएको संसद्को अधिवेशन पनि समापन भइसकेको छ । यो बीचमा संसद्ले सभामुख र उपसभामुख पाएको छ । राष्ट्रिय सभाले उपाध्यक्ष पाइसकेको छ । तर‚ नेपाली कांग्रेसले भने आफ्नो संसदीय दलको नेतासमेत चयन गर्न सकेको छैन ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको विवाद उत्कर्षमा पुगेको छ ।
पार्टी महामन्त्री धवलशमशेर राणा समूहले अध्यक्ष राजेन्द्र लिङ्देनलाई घुमाउरो भाषामा पार्टी अध्यक्षबाट राजीनामा दिएर महाधिवेशन गर्नका लागि निष्पक्ष व्यक्तिको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्न माग गरेको छ ।
००००
इन्धन कटौतीपछि काठमाडौं महानगरपालिकाले कर्मचारीलाई उपलब्ध गराएको सवारी साधनलाई आलोपालो चलाउने प्रणाली ‘कार पुलिङ’ कार्यक्रम कार्यान्वयनमा ल्याएको कार्यवाहक प्रमुख सुनिता डंगोलले बताएकी छन् ।
इन्धन अभावबाट सिर्जना भएको अवस्था र यसले दीर्घकालमा पार्न सक्ने नकारात्मक प्रभाव घटाउन यस्तो निर्णय गरिएको उनको भनाइ छ ।
००००
चर्चित गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन भएको छ । दशकौंसम्म बलिउडको स्वरका रूपमा परिचित उनी आधुनिक भारतीय सङ्गीतकी महान् गायिकामध्ये एक मानिन्थिन् ।
उनले थुप्रै नेपाली गीत पनि गाएकी छन् । उनले नेपालीमा गाएका धेरै गीत कालजयी छन् ।
उनी शनिबार मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा हृदय र श्वासप्रश्वाससम्बन्धी समस्यापछि भर्ना भएकी थिइन् ।