०८ साउन २०८३, शुक्रबार

आगामी वर्षलाई भ्रष्टाचार निवारणको आधार वर्ष बनाउन खिलराज रेग्मीको आह्वान

बैशाख १, २०८३
काठमाडौं
आगामी वर्षलाई भ्रष्टाचार निवारणको आधार वर्ष बनाउन खिलराज रेग्मीको आह्वान

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले आगामी वर्षलाई सुशासन कायम र भ्रष्टाचार निवारणको आधार वर्ष बनाउन आह्वान गरेका छन् । नयाँ वर्ष २०८३ को शुभ उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै उनले मुलुकको राजनीतिक उपलब्धि र वर्तमान चुनौतीहरूबारे गम्भीर चर्चा गरेका छन् ।

२०७२ सालमा जनप्रतिनिधिमार्फत् संविधान जारी हुनु महत्वपूर्ण उपलब्धि भए तापनि भ्रष्टाचार निवारण र सुशासनका विषयहरू केवल प्रतिबद्धतामा मात्र सीमित रहनु र व्यवहारमा सार्थक नहुनु दुःखद पक्ष रहेको उनले उल्लेख गरेका छन् ।

पछिल्लो समय विकसित भएको जेनजी आन्दोलनले मुलुकको परिवेश र परिस्थितिमा परिवर्तन ल्याएको उल्लेख गर्दै रेग्मीले आन्दोलनले भ्रष्टाचार निवारण र सुशासनलाई नै मुख्य दिशा निर्देश गरेको स्मरण गरेका छन्। आन्दोलनकारीको बलिदानपूर्ण अमूल्य रगतको मर्म र भावना अनुरूप अघि बढ्नु अब प्रत्येक नेपालीको कर्तव्य र दायित्व भएको उनको सन्देशमा उल्लेख छ।

प्रतिनिधिसभामा युवा पुस्ताको बाहुल्यता हुनु र सोही अनुरूप सरकार गठन हुनुलाई उनले सकारात्मक रूपमा चित्रण गरेका छन् ।

वर्तमान सरकारले विगतको भन्दा भिन्न कार्यशैलीका साथ द्रुत गतिमा काम अघि बढाउने प्रयास गरेको र यो सकारात्मक दिशातिर उन्मुख रहेको उनको ठम्याइ छ।

आगामी नयाँ वर्ष नेपालीको उन्नति र प्रगतिको विशेष वर्षका रूपमा स्थापित हुने अपेक्षा राख्दै पूर्वअध्यक्ष रेग्मीले नयाँ वर्षले सबैमा नयाँ उत्साह र उमङ्ग ल्याउने विश्वास व्यक्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्