
राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले काँकडभिट्टालगायत पूर्वीनामा कडाई गर्न थालेको छ ।
सीमावर्ती क्षेत्रका बासिन्दा खाद्यवस्तु, लत्ताकपडा र अन्य घरायसी प्रयोजनका सामान खरिद गर्न भारतीय सीमावर्ती बजार धाउने प्रवृत्तिले स्थानीय बजार सुस्ताएको र मुलुकले राजस्व गुमाइरहेको गुनासोपछि कडाइ गरिएको हो ।
सशस्त्र प्रहरी बलले मेचीनगर, भद्रपुर, गौरीगञ्ज र कचनकवललगायत सीमा नाकामा एक सयभन्दा बढी मूल्यको सामान भारतबाट ल्याउँदा अनिवार्य भन्सार महसुल बुझाउन आग्रह गरिरहेको छ ।
भन्सार महसुल नुबुझाए कानुनबमोजिम कारबाही अघि बढाइने भन्दै सूचित गर्ने काम पनि भइरहेको सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वार्टर झापाका सूचना अधिकारी मदन रसाइलीले बताए । गृह मन्त्रालयको निर्देशनअनुसार राजस्व चुहावट नियन्त्रण गर्न सीमा क्षेत्रमा सचेतनामूलक कार्यक्रम शुरू गरिएको उनको भनाइ छ ।
सीमानाकाबाट हुने अवैध आयात र राजस्व चुहावट रोक्न सशस्त्र प्रहरीले देशैभरका नाकामा झापामा जस्तै निगरानी बढाइरहेको जनाइएको छ ।