
नेकपा (एमाले) का नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले हालै सार्वजनिक गरेको ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदामा प्रयोग गरिएका कूटनीतिक शब्दावलीप्रति प्रश्न उठाएका छन् । सरकारले परराष्ट्र सम्बन्ध सञ्चालनका सन्दर्भमा प्रयोग गरेका शब्दहरू अपरिपक्व र नेपालको भूराजनीतिक मर्यादा अनुकूल नभएको उनको भनाइ छ ।
सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै नेता ज्ञवालीले सरकारी दस्ताबेजको बुँदा नम्बर १४ मा उल्लेखित ‘नेपाललाई बफर स्टेटबाट भाइब्रेन्ट ब्रिजका रूपमा रूपान्तरण गर्ने’ भन्ने वाक्यांशप्रति मुख्य चासो छ । नेपालले आफ्नो भूराजनीतिक अवस्थितिलाई कहिल्यै पनि ‘बफर स्टेट’ नभनेको र छिमेकी मित्र राष्ट्रहरूले समेत यस्तो शब्द प्रयोग नगरेको उनले स्पष्ट पारेका छन् । छिमेकी मुलुकहरूबीच अनन्त दुश्मनी र द्वन्द्वको अवस्था नरहेकाले सरकारी दस्ताबेजमा यस्तो शब्दको प्रयोग गर्नु प्रासङ्गिक नहुने ज्ञवालीको तर्क छ।
त्यसैगरी, सरकारले परराष्ट्र नीतिमा अवलम्बन गर्ने भनेको ‘समनिकटता र समदूरी’को अवधारणामाथि पनि उनले प्रश्न उठाएका छन् । कूटनीतिमा मुद्दा, साझेदारी र सन्दर्भअनुसार सम्बन्धका आयामहरू फरक हुन सक्ने उल्लेख गर्दै उनले सबै सम्बन्धलाई एउटै मापन र आयतनमा राखेर हेर्न नमिल्ने बताए । राष्ट्रिय हितको रक्षा, स्वतन्त्र परराष्ट्र नीति र बाह्य सम्बन्धमा सन्तुलन कायम गर्नु नै मुख्य विषय हुनुपर्नेमा उनको जोड छ।
अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा प्रयोग गरिने प्रत्येक शब्दको विशेष र दुरगामी अर्थ हुने भएकाले सरकारी दस्ताबेजहरूमा भाषिक प्रयोग गर्दा पर्याप्त सावधानी अपनाउनुपर्ने सुझाव समेत पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले दिएका छन् । उनले सरकारलाई कूटनीतिक मर्यादा र शब्दको गाम्भीर्यता बुझ्न समेत सचेत गराएका छन् ।
यस्तो छ उनको भनाइ
भर्खरै सरकारले तयार गरेको ‘राष्ट्रिय प्रतिबद्धता’को बुँदा नं १४ ‘अन्तर्राष्ट्रिय कुटनीति र परराष्ट्र सम्बन्ध’ शीर्षकमा ‘नेपाललाई ‘बफर स्टेट’ बाट ‘भाइब्रेन्ट ब्रिज’ का रूपमा रूपान्तरण गर्ने’ र ‘सबैसँग सम दूरी र समनिकटताको नीति अवलम्बन गर्ने’ विषय उल्लेख गरिएको रहेछ । अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा प्रयोग गरिने प्रत्येक शब्दको विशेष अर्थ हुन्छ ।
नेपालले आफ्नो भूराजनीतिक अवस्थितिलाई कहिल्यै ‘बफर राज्य’ भनेको छैन र छिमेकी मित्र राष्ट्रहरूले पनि यस्तो शब्द प्रयोग गरेका छैनन् । हाम्रा छिमेकीहरूबीच अनन्त दुश्मनी र द्वन्द्व पनि छैन, जसको सन्दर्भमा यस्तो शब्दको प्रयोग प्रासङ्गिक देखियोस् । यही कुरा ‘समनिकटता’ र ‘समदूरी’का हकमा पनि लागु हुन्छ । राष्ट्रिय हितको रक्षा, स्वतन्त्र परराष्ट्र नीति र बाह्य सम्बन्धमा सन्तुलन मुख्य विषय हो । मुद्दा, साझेदारी र सन्दर्भअनुसार हाम्रा सम्बन्धका आयाम फरक हुन सक्छन् । त्यस अर्थमा हाम्रा सम्बन्धहरूमा सधैंभरि उही मापन र आयतन नरहन पनि सक्छ ।
सरकारी दस्ताबेजहरूमा भाषिक प्रयोगहरूमा पर्याप्त सावधानी आवश्यक हुन्छ ।