
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेपाली कांग्रेसले उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने सरकारको तयारीलाई सकारात्मक रूपमा लिएको छ । तर आयोगको गठन प्रक्रिया र संरचनामा भने गम्भीर प्रश्न उठाएको छ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सम्पत्ति छानबिनका लागि गठित आयोग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत राख्नु उपयुक्त नहुने ठहर गरेको हो ।
कांग्रेसले २०४८ सालदेखि नै सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिनका लागि अधिकार सम्पन्न आयोग गठन गर्न माग गर्दै आएको स्मरण गराउँदै सरकारको पछिल्लो कदमलाई सैद्धान्तिक समर्थन गरेको छ। कांग्रेसले २०४६ सालदेखि २०८२ सम्मका सबै भ्रष्टाचारका प्रकरणहरू र अवैध रूपमा आर्जित सम्पत्तिको छानबिन गरी राष्ट्रियकरण गर्नुपर्ने अडान राखेको छ।
००००
सर्वोच्च अदालतले पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ ।
खड्का पत्नी विनिता थापाले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि बिहीबार सुनुवाइ गर्दै कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले थुनामुक्त गर्न आदेश दिएको हो ।
००००
प्रधानमन्त्री वालेन्द्र शाह र प्रदेशका मुख्यमन्त्रीहरूबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन घण्टा लामो संवाद भएको छ। संघीयता कार्यान्वयनका जटिलता सुल्झाउने उद्देश्यले आयोजना गरिएको छलफल केवल बैठकमा मात्र सीमित रहेन, बरु यो एक जीवन्त र साझा समाधान खोज्ने थलो बन्यो। सामान्यतया राजनीतिक भेटघाटमा देखिने ‘प्रोटोकल’ र औपचारिकता यो बैठकमा कतै देखिएन।
प्रधानमन्त्री शाहले सो क्रममा ‘इन्टरएक्टिभ’ शैली पनि अपनाए । छलफलका क्रममा मुख्यमन्त्रीहरूले आफ्ना समस्या राख्दै गर्दा शाहले कुनै पनि विषयमा जिज्ञासा जाग्नेबित्तिकै तत्कालै बीचमै सोधेर स्पष्ट पारे र समाधानका विकल्पमा बहस छेडे। शाहको यो ‘एक्सन–ओरिएन्टेड’ शैलीलाई मुख्यमन्त्रीहरूले पनि उत्तिकै खुला हृदयले स्वागत गर्दै आफ्ना भोगाइ र अप्ठ्याराहरू विना संकोच राखे।
शाहले मुख्यमन्त्रीहरूका समस्यालाई केवल ‘नोट’ मात्र गरेनन्, कतिपय प्राविधिक र व्यावहारिक उल्झनहरूलाई तत्कालै समाधान गर्ने उपाय समेत सुझाए। यसअघि धेरै नबोल्ने भनेर टिप्पणी हुँदै आएका बालेन बिहीबारको छलफलमा भने निकै खुलेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
००००
उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासले अनुसन्धानका क्रममा नियन्त्रणमा लिएका बालबालिकाको नाम, तस्बिर र भिडियो सार्वजनिक नगर्न तथा नगराउन बिहीबार अन्तरिम आदेश जारी गरेको छ ।
इजलास नेपालगन्जका न्यायाधीश दलबहादुर केसीको एकल इजलासले निवेदकको मागबमोजिम आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए पेस गर्न विपक्षीलाई कारण देखाऊ आदेश दिएको हो।
००००
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनको तल्लो तहबाट समीक्षा गर्न थालेको छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले निर्वाचनमा बेहोर्नुपरेको पराजयको समीक्षाका लागि वडा कमिटी, पालिका कमिटी र जिल्ला कमिटीमा काम सञ्चालन भइरहेका बताए। उनले ती तीनै तहले समीक्षा प्रतिवेदन प्रदेश कमिटीलाई पठाउने र प्रदेश कमिटीले केन्द्रीय सचिवाललाई पठाउने जानकारी दिए ।
००००
यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले इन्धनको मूल्यवृद्धिले व्यवसायी मारमा परेका भन्दै भाडा समायोजन गर्न माग गरेको छ ।
महासङ्घका महासचिव डेकनाथ गौतमले बिहीबार एक विज्ञप्ति जारी गरी अमेरिका, इजरायल र इरानबीचको द्वन्द्वका कारण नेपालमा आउने इन्धनको मूल्य बढेको र यातायात सञ्चालनमा समस्या परेको भन्दै भाडा समायोजन गर्न माग गरेका हुन् ।
००००
अध्यागमन विभागले कानुनभन्दा बाहिर गई सर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नभएकाले प्रचलित कानुन र विभागीय निर्णयबाहिर गई गैरकानुनी अभ्यास गर्ने कर्मचारीलाई कारबाही गर्ने भएको छ ।
विभागका प्रवक्ता निर्देशक टिकाराम ढकालले यसरी गैरकानुनी रूपमा प्रस्थान अनुमति दिने कर्मचारीमाथि आन्तरिक छानबिनको प्रक्रिया अघि बढाइएको बताए । संयुक्त अरब इमिरेट्स जान लागेका एक नेपाली नागरिकको राहदानीमा प्रस्थान छापसँगै असम्बन्धित विष्य लेखिएको भन्ने विषय विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विभागको ध्यानाकर्षण भएको उनले बताए ।
००००
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विषयगत समितिमा रहने सदस्यको नामावली हेरफेर गरेका छन् ।
सभामुखले संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० र प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम गठित समितिमा रहने सदस्यको नामावली हेरफेर गरेका हु्न् ।
००००
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त भाइकाजी तिवारीविरुद्ध १० करोड बढी अकुत सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले बिहीबार विशेष अदालत काठमाडौंमा उनीविरुद्ध १० करोड ५४ लाख ९५ हजार ८७१ रूपैयाँ गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर गरेको हो ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको उपनेतामा गणेश पराजुली चयन भएका छन् ।
पार्टी संसदीय दलको बिहीबार सिंहदरबारमा बसेको बैठकले उनलाई उपनेता चयन गरेको महामन्त्री तथा मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रमुख सचेतक र सचेतक चयन गरेको छ ।रास्वपाले एक प्रमुख सचेतक र दुई सचेतक चयन गरेको हो ।
बिहीबार बसेको संसदीय दलको बैठकले प्रमुख सचेतकमा कविन्द्र बुर्लाकोटी तथा सचेतकमा क्रान्तिशिखा धिताल र प्रकाशचन्द्र परियार चयन भएका छन् ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदका लागि मासिक १६ हजार लेबी तोक्ने निर्णय गरेको छ ।
बिहीबार बसेको संसदीय दलको बैठकले सांसद र मन्त्रीका लागि लेबी तोक्ने निर्णय गरेको बिहीबार नै मुख्य सचेतक तोकिएका कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
रास्वपा सांसदले पाउने मासिक तलब भत्ताबाट सांसदले १६ हजार ५ सय पार्टीलाई बुझाउनुपर्ने भएको छ । यस्तै, सरकारमा सहभागी मन्त्रीहरूले मासिक १८ हजार रूपैयाँ पार्टीलाई लेबी बुझाउनुपर्ने भएको छ ।
००००
राष्ट्रिय सतर्कता केन्द्रले ६३२ जना कर्मचारीलाई कारबाही गर्न सम्बन्धित कार्यालय प्रमुखलाई सिफारिस गरेको छ ।
केन्द्रले विभिन्न कार्यालयमा छड्के अनुगमन गरी ती कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेको केन्द्रका प्रवक्ता नारायणप्रसाद भट्टले जानकारी दिए ।