१० साउन २०८३, आइतबार
सरसर्ती २४ घण्टा

निर्वाचन प्रहरीको पोसाक खरिदमा ६० करोड अनियमितताको आरोपदेखि देउवालाई झट्कासम्म

बैशाख ५, २०८३
काठमाडौं
निर्वाचन प्रहरीको पोसाक खरिदमा ६० करोड अनियमितताको आरोपदेखि देउवालाई झट्कासम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

यससँगै, २०८२ पुस २७ देखि ३० सम्म काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमितिले वैधानिकता पाएको छ ।

न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले विशेष महाधिवेशनलाई वैधता दिने क्रममा विभिन्न आधारमा टेकेको छ ।

त्यसमध्ये, एउटा गगन थापाको हस्ताक्षरमा चुनाव लडेको विषय पनि उल्लेख छ ।

‘प्रमुख पदाधिकारीको रूपमा गगनकुमार थापाको हस्ताक्षरबाट २०८२ फागुन २१ मा तोकिएको संघीय संसदको निर्वाचनका लागि हुने प्रत्यक्ष निर्वाचनतर्फको उमेदवारको मनोनयन भई निर्वाचनसमेत सम्पन्न भई राजनीतिक वैधता पाई रिट निवेदन गर्दाको अवस्थामा हाल सारभूत परिवर्तन भइसकेको...’ सर्वोच्चको आदेशमा भनिएको छ ।

विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा चयन भएको केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्ने निर्वाचन आयोगको निर्णय बदर गराई पाऊँ भन्ने मागसहित देउवा र खड्काले रिट दायर गरेका थिए ।

००००

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आधिकारिकताका सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसलालाई हार्दिकताका साथ स्वीकार गर्ने बताएका छन् । 

अदालतको फैसलापछि एक वक्तव्य जारी गर्दै उनले यस निर्णयलाई कसैको हार वा जितको रूपमा व्याख्या नगर्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरे ।

००००

नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले पार्टीका आधिकारिकताका सम्बन्धमा सर्वोच्च अदालतको फैसलालाई विधि र प्रक्रियाको जितका रुपमा टिप्पणी गरेका छन् । 

 विशेष महाधिवेशनबाट निर्वाचित कमिटीलाई अदालतले वैधानिकता दिएसँगै महामन्त्री घिमिरेले यस्तो प्रतिक्रिया दिएका हुन् ।

००००

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, रुपन्देहीमा कार्यरत नायब सुब्बा ओम बहादुर खाम्चालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ। 

जग्गाको नयाँ श्रेस्ता कायम तथा नामसारी गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेको सूचनाका आधारमा बुटवलस्थित आयोगको कार्यालयबाट खटिएको टोलीले उनलाई सिद्धार्थनगर नगरपालिका वडा नं १३ बाट नियन्त्रणमा लिएको हो ।

००००

नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको शुक्रबारको फैसलालाई अनपेक्षित भनेको छ ।

पार्टीका पूर्वसभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिट खारेज भएपछि देउवा पक्षले यस्तो प्रतिक्रिया दिएको हो ।

पार्टीका पूर्व प्रवक्ता समेत रहेका नेता डा प्रकाशशरण महतले अनपेक्षित फैसला आए पनि स्वीकार गरेर अगाडि बढ्ने बताए ।

००००

नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले राजीनामा दिएका छन् ।

श्रेष्ठ शुक्रबार राजीनामा बुझाएर बाहिरिएको अर्थमन्त्रालय स्रोतले लोकान्तरलाई जानकारी दियो ।

यसअघि बसेको बोर्ड बैठकमा पनि श्रेष्ठले राजीनामा दिने बताएका थिए ।

बैठकपछि उनले राजीनामा बुझाएका हुन् । करिब १६ महिनाअघि २०८१ मंसिर १३ गते उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरिएको थियो ।

००००

नेकपा (एमाले) केन्द्रीय कार्यालयको आजको बैठकले यसअघि घोषणा गरिएका आन्दोलनका कार्यक्रमलाई स्थगन गर्दै पार्टी स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी मनाउने निर्णय गरेको छ ।

सो पार्टीका महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा भएकोे बैठकले पार्टी स्थापना दिवसमा कार्यक्रम आयोजना गर्ने निर्णय गर्नुका साथै पार्टीको यसअघि निर्धारित केही कार्यक्रमलाई संशोधनको निर्णय गरेको हो ।

००००

श्रमिक पठाउन इजाजतपत्र प्राप्त संस्थाहरूले वैदेशिक रोजगारीको मागपत्रमा पूर्वस्वीकृति आवेदन गर्दा अनिवार्य रूपमा सम्पर्क व्यक्तिको नाम, सम्पर्क नम्बर र स्थान खुलाउनुपर्ने भएको छ ।

वैदेशिक रोजगार विभागले आज सूचना जारी गरी वैदेशिक रोजगारका लागि श्रमिक पठाउन इजाजतपत्र प्राप्त संस्थाहरूले श्रमिक माग गरी राष्ट्रियस्तरको दैनिक पत्रिकामा विज्ञापनको सूचना प्रकाशन गर्नुपर्ने र सोको जानकारी यस विभागमा पठाउनुपर्ने प्रावधान रहेको जनाएको छ ।

यसरी प्रकाशन हुने सूचनामा स्पष्ट रूपमा संस्थाको आधिकारिक सम्पर्क व्यक्तिको नाम, सम्पर्क नम्बर एवं सम्पर्क स्थान तोकिएको हुनुपर्ने व्यवस्था भए पनि प्रकाशित भएको सूचनाअनुसार आवेदन दिन चाहने व्यक्तिहरूले सम्पर्क गर्न नसकेको गुनासो प्राप्त भएकाले सो सम्बन्धमा विभागको गम्भीर ध्यानाकर्षण भएको हो ।

००००

प्रतिनिधि सभाको पहिलो बैठक बसेको १५ दिनमै विषयगत समिति गठन भएर सभापतिको निर्वाचन समेत सम्पन्न भएको छ । विगतमा समिति गठन र नेतृत्व छान्न महिनौं लाग्ने गरेको थियो ।

रास्वपाको झण्डै दुईतिहाइ बहुमत रहेको प्रतिनिधि सभाका विषयगत समितिमध्ये लेखा समितिबाहेक सबैमा रास्वपाका उम्मेदवार विजयी भएका छन् ।

संसदको पूर्ण बैठकले सबै काम गर्न नसक्ने भएकाले कामको बाँडफाँड गर्न संसदीय समिति गठन गरिन्छ । ‘मिनी पार्लियामेन्ट’ भनिने यिनै समितिले सकारलाई जवाफदेही बनाउने काम गर्छन् ।

००००

नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत कम्पनीहरूको शेयर मूल्य अब एक दिनमा अधिकतम १५ प्रतिशतसम्म बढ्न वा घट्न सक्ने भएको छ ।

नेप्सेले कारोबार सञ्चालन विनियमावली संशोधन गर्दै आगामी सोमबारदेखि नयाँ व्यवस्था लागू गर्ने निर्णय गरेको हो ।

यसअघि शेयर मूल्य दैनिक १० प्रतिशतसम्म मात्रै तलमाथि हुन सक्ने सीमा कायम थियो ।

००००

प्रतिनिधिसभा सदस्य निर्वाचन– २०८२ का क्रममा खटिएका निर्वाचन प्रहरीको पोसाक खरिदमा करिब ६० करोड रुपैयाँ अनियमितता भएको आरोप लागेको छ ।

यस विषयमा चारवटा छुट्टाछुट्टै उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भइसकेका छन् ।

उजुरीमा पोसाक खरिदका लागि छुट्याइएको करिब एक अर्ब रुपैयाँमध्ये वास्तविक खर्च करिब ४० करोड मात्र भएपनि बाँकी रकम अनियमितता भएको दाबी छ । यस्तै व्यहोराको उजुरी प्रधानमन्त्री कार्यालय र संसदको सार्वजनिक लेखा समितिमा समेत दर्ता भएको छ ।

एक लाखभन्दा बढी प्रहरीका लागि खरिद गरिएको पोशाकको मूल्यमा दोब्बर अन्तर रहेको दाबी उजुरीमा गरिएको छ । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि एक लाखभन्दा बढी निर्वाचन प्रहरी खटिएका थिए ।

००००

प्रधानमन्त्री बालेन्द्र शाहविरुद्ध दायर भएको अदालतको अवहेलना मुद्दामा वारेस राख्न सर्वोच्च अदालतले अनुमति दिएको छ ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको इजलासले शुक्रबार यस्तो अनुमति दिएको हो ।

००००

रेशम चौधरीलाई पक्राउ गर्न फर्जी पत्र बनाएको अभियोगमा दोषी ठहर भएका सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई ६ महिना कैद सजाय तोकिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले उनलाई बिहीबार ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्