
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा पनि आइतबार र शनिबार दुई दिन नै बिदा दिने भएको छ ।
गत चैत २२ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्थाअनुसार अस्पतालमा पनि लागू गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।
यसअघि मन्त्रालयले गत आइतबार पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो । 'स्वास्थ्यकर्मीका मनोबल र हितलाई ध्यानमा राखी बिरामीको निरन्तर हेरचाह सुनिश्चित गर्न र सरकारको हप्तामा दुईदिन सार्वजनिक बिदाको नीतिअनुरूप आइतबारका पूर्वनिर्धारित शल्यक्रियालगायत बिरामीको सहजता हेरि रिसेडयुल गरी अन्तरङ्ग र आकस्मिक सेवाहरू सधैँझैँ २४ घण्टा सूचारु गरिने छ,' उनले भने ।
प्रवक्ता बुढाथोकीले बिदाको दिनमा बिरामीले कुनै पनि सास्ती भोग्न नपरोस् भनी अस्पतालहरूले सम्भव भएसम्म सेवा प्रदान गर्नसमेत आग्रह गरे । यस्तै, अस्पतालमा उपलब्ध नभएका सेवाका लागि नजिकैको उपयुक्त अस्पतालमा सहज रूपमा रेफर गर्न र एम्बुलेन्सहरू हरदम तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउनसमेत सबै अस्पताललाई अनुरोध मन्त्रालयले गरेको छ ।
मन्त्रालयले सर्वसाधारणको जानकारीका लागि बिदामा उपलब्ध सेवाको विवरण आफ्नो वेबसाइट तथा सूचनापाटीमा राख्नसमेत अनुरोध गरेको छ ।
यसअघि स्वास्थ्य क्षेत्रमा क्रियाशील १४ वटा संयुक्त पेशागत संगठनले स्वास्थ्यकर्मीहरूलाई पनि सातामा दुई दिन बिदा लागु गर्न माग गर्दै सरकारलाई कडा चेतावनी दिएका थिए । माग सम्बोधन नभए संयुक्त आन्दोलनमा उत्रने उनीहरूको घोषणा थियो ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल विक्रम कार्कीको संयोजकत्वमा गठित संयुक्त समूहले जारी गरेको विज्ञप्तिमा सार्वजनिक क्षेत्रमा लागु गरिएको सातामा दुई दिन बिदा स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरूमा पनि समान रूपमा लागु हुनुपर्ने माग गरिएको थियो ।