०९ साउन २०८३, शनिबार
सरसर्ती २४ घण्टा

मालपोत र नापी कार्यालय गाभिँदै, हारेको क्षेत्रमा रास्वपाले खटायो समानुपातिक सांसद

बैशाख ९, २०८३
काठमाडौं
मालपोत र नापी कार्यालय गाभिँदै, हारेको क्षेत्रमा रास्वपाले खटायो समानुपातिक सांसद

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्मुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

मालपोत र नापी कार्यालयहरू बढी नै दुर्गन्धित भएको भन्दै सरकारले त्यसको पुनर्संरचना गर्ने तयारी गरेको छ ।

जिल्ला मालपोत कार्यालय र नापी कार्यालयलाई एक आपसमा गाभेर जिल्ला भूमि प्रशासन कार्यालय गठन गर्ने तयारी भएको हो । पुनर्संचना हुने कार्यालयको नेतृत्व भने अब नापी विभागले गर्ने छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका एक उच्च अधिकारीका अनुसार नापी कार्यालयको तुलनामा मालपोत कार्यालय बढी नै बदनाम भएको, घुस लेनदेन होस् वा भ्रष्टाचारजन्य अनियमितताका कामहरू नापीको तुलनामा मालपोतमै बढी हुने गरेकाले सरकारले अब मालपोत कार्यालयलाई नापी कार्यालयमा गाभेर नापी विभागकै नेतृत्व दिने गृहकार्य थालेको हो ।

००००

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ५ वटा निर्णय गरेको छ । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमल्सिनाले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै मुख्य ५ निर्णय सुनाए । 

उनका अनुसार नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। गुणाकर भट्टको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव डा घनश्याम उपाध्याय र भुवन कुमार दाहाल (काठमाडौं) सदस्य रहने गरी सिफारिस समिति गठन भएको छ ।

यसैगरी, मन्त्रिपरिषद् बैठकले नेपाल विशेष सेवा ऐन २०८२ लाई संशोधन गर्न बनेको विधेयक र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको मन्त्री तिमल्सिनाले जानकारी दिए ।

मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने पनि मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । 

मन्त्री तिमल्सिनाका अनुसार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष पदमा डिल्लीराज आचार्य (प्युठान) र सदस्य पदमा नवराज सिम्खडा (धादिङ) एवं रोशन बहादुर शाक्य (ललितपुर)लाई नियुक्ति र मनोनयन गर्ने निर्णय भएको छ । 

००००

नेकपा एमालेले विभिन्न विवादमा मुछिएका गृहमन्त्री सुधन गुरुङमाथि उच्च स्तरीय संयन्त्र गठन गरेर छानबिन गर्न माग गरेको छ ।

एमालेका केन्द्रीय सदस्य एवं प्रेस संयोजक मीनबहादुर शाहीले विज्ञप्ति जारी गर्दै गृहमन्त्रीको संलग्नता देखिएका सबै विषयहरूको छानबिनका लागि उच्च स्तरीय संयन्त्र गठन गरेर तत्काल अनुसन्धान प्रक्रिया अघि बढाउन माग गरेका हुन् ।

००००

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सांसदको रूपमा काम कारबाही गर्न रोक लगाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ । 

अधिवक्ता आयुष बडालसहितले उक्त रिट पेस गरेको रिट सर्वोच्चले दर्ता गर्न भने अस्वीकार गरेको छ।  

००००

प्रतिनिधिसभा नियमावली २०८३ को मस्यौदा सभामुखलाई बुझाइएको छ । 

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीको नेतृत्वमा बनेको समितिले मस्यौदा सभामुख डोलप्रसाद अर्याललाई बुझाएको हो । 

मंगलबार दिउँसो राज्य व्यवस्था तथा सुशासन समितिको सभाहलमा सभामुख अर्याललाई समिति संयोजक पराजुलीसहित समिति सदस्यहरूले नियमावलीको मस्यौदा बुझाएका हुन् ।

००००

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिष्ट आन्दोलनको समग्र पुनर्गठनका लागि आह्वान गरेका छन् । 

पार्टी स्थापनाको ७७ औं वर्षगाँठ तथा लेनिन जयन्तीको अवसरमा बुधबार एक शुभकामना सन्देश जारी गर्दै संयोजक प्रचण्डले छरिएर रहेका सबै वामपन्थी तथा कम्युनिष्ट शक्तिहरूबीचको एकता र आन्दोलनको नयाँ शिराबाट उठान हुनुपर्नेमा जोड दिएका हुन् ।

००००

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १८ दशमलव १० अङ्कले घटेर दुई हजार ८०७ दशमलव १२ विन्दुमा कायम भएको छ ।

मंगलबार ३४७ कम्पनीको एक करोड ३० लाख १९ हजार ५५ कित्ता शेयर ९५ हजार ८०० पटक खरिदबिक्री हुँदा पाँच अर्ब ७७ करोड ४३ लाख १७ हजार ८७९ बराबरको कारोबार भएको छ ।

००००

अख्तियार दुरुपयोग अनुसनधान आयोगले भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण गरेको अभियोगमा पुरातत्व विभागका तत्कालीन सिनियर डिभिजनल इञ्जिनियर पूर्णबहादुर श्रेष्ठ र सहायक पथ प्रदर्शक देउकला अधिकारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

निर्माण सेवाका सञ्चालक तथा सम्वद्ध संयुक्त उपक्रमहरुको बैंक खाताबाट देउकला अधिकारीको नाममा रहेको बैंक खातामा रकम जम्मा गराएको पाइएको छ । आयोगका अनुसार, त्यसरी प्राप्त भएको घुस रकमबाट संयुक्त रुपमा सम्पत्ति खरिद गरेको पाइएको छ ।

००००

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको अस्थायी युद्धविरामको अवधि बढाउने घोषणा गरेका छन्, जसले गर्दा मध्यस्थकर्ताहरूलाई अमेरिका र इरानबीच नयाँ चरणको आमनेसामने वार्ताको तयारी गर्न थप समय मिलेको छ। पाकिस्तानको अनुरोधमा  यो कदम लिइएको उनले बताए ।

ट्रम्पकाअनुसार, उनले अमेरिकी सेनालाई इरानमाथि नाकाबन्दी जारी राख्न र कुनै पनि परिस्थितिको लागि तयार रहन निर्देशनसमेत दिएका छन् । यसको अर्थ सैन्य दबाब रहनेछ, तर तुरुन्तै प्रत्यक्ष कारबाही गरिने छैन। अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी भने जारी राख्ने छ ।

००००

ललितपुरमा ऐतिहासिक रूपमा मनाइँदै आएको रातो मच्छिन्द्रनाथ जात्रा औपचारिक रूपमा सुरु भएको छ । मंगलबार पुलचोकबाट तानेर रातो मच्छिन्द्रनाथको रथ गाबल र्पुयाइएको छ ।

वर्षा र सहकालका देवताका रूपमा पूजा गरिने रातो मच्छिन्द्रनाथलाई गत शनिबार ३२ हात अग्लो रथमा बिराजमान गराइएको थियो । तिथिअनुसार पुलचोकबाट रथ तानेर गाबल र्पुयाइएको हो ।

००००

नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मंगलबार भेटवार्ता भएको छ । दुई नेताबीच भएको सो भेटघाटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा छलफल भएको छ ।

००००

टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गतको दोस्रो खेलमा मंगलबार नेपाल विजयी भएको छ । 

संयुक्त अरब इमिरेट्स (यूएई)लाई ८ विकेटले हराउँदै नेपाल विजयी भएको हो ।  जितका लागि एक सय २९ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले  १५.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको हो  ।

००००

नेपाली कांग्रेसद्वारा संविधान संशोधनका लागि सुझाव दिन गठित समितिले मंगलबारदेखि काम शुरू गरेको छ ।

पार्टी उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठित १७ सदस्यीय समितिको पहिलो बैठकमा पार्टी सभापति गगन कुमार थापा, महामन्त्री प्रदीप पौडेल, सहमहामन्त्रीद्वय उदयशमसेर राणा र योगेन्द्र चौधरी समेत सहभागी भएका थिए ।

००००

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले ३३ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् ।

काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै साम्पाङले विदेशी हस्तक्षेपबाट मुक्त, एमसीसी र एसपीपी जस्ता सैन्य रणनीतिक सम्झौता गर्न नहुनेलगायतका विषयमा प्रतिवद्धता जनाएका हुन् ।

००००

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न नसकेका निर्वाचन क्षेत्रहरूका लागि समानुपातिक सांसदको सूचीबाट जिम्मेवारी तोकेको छ ।

रास्वपाले त्यसका लागि कोशी प्रदेशमा ११ जना, मधेश प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनी प्रदेशमा पाँच, कर्णालीमा ११ र सुदूरपश्चिम प्रदेशमा छ जना सांसदलाई जिम्मेवारी तोकेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

ती जिम्मेवारी तोकिएका सांसदहरूले ती क्षेत्रका समसामयिक समस्याका विषयमा समन्वय गर्ने छन् ।

salt training

कमेन्ट गर्नुहोस्