
काठमाडौँ क्षेत्र नम्बर १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले सुकुम्बासी व्यवस्थापन प्रक्रियामा स्पष्टता, भरोसा र मानवीय दृष्टिकोण अपनाउन सरकारलाई आग्रह गरेकी छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले काठमाडौँ–१ बाटै रास्वपाको निर्वाचन विजयको सुरुवात भएको स्मरण गराउँदै उनले सरकारले पनि अव्यवस्थित सुकुम्बासी बस्ती व्यवस्थापनको काम सोही क्षेत्रबाट सुरु गर्न लागेको उल्लेख गरेकी छन्।
उनले अव्यवस्थित बस्ती व्यवस्थित हुने प्रक्रिया सकारात्मक भए पनि दीर्घकालदेखि सुकुम्बासी समस्यालाई समाधान नगरी राजनीतिक रूपमा प्रयोग गरिँदै आएकोप्रति असन्तुष्टि जनाएकी छन्। 'वर्षौँसम्म जनतालाई अंकगणितको रूपमा मात्र प्रयोग गर्नु र आधारभूत सुविधाबाट वञ्चित राख्नु अपराध हो,' उनले उल्लेख गरेकी छन्।
सांसद दर्शनाले सुकुम्बासी र ‘हुकुम्बासी’ छुट्याएर वास्तविक सुकुम्बासीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्नेमा जोड दिएकी छन्। उनले पहिले नै यसबारे प्रधानमन्त्रीसमक्ष बैठकमा राय राखेको पनि बताएकी छन्।
सरकारले न्यून समयमै प्रक्रिया अघि बढाउँदा प्रभावित समुदायमा अन्योल र त्रास सिर्जना भएको उनको भनाइ छ। व्यवस्थापन कहाँ र कसरी हुने भन्ने स्पष्ट जानकारी दिइएको भए राज्यप्रति भरोसा बढ्ने उनले उल्लेख गरेकी छन्।
उनले मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत ‘शासकीय सुधार सम्बन्धी १०० कार्यसूची’ कार्यान्वयनलाई प्राथमिकता दिन आग्रह गरेको जनाएकी छन्। यद्यपि आफ्नै निर्वाचन क्षेत्रमा आफ्नो सुझावअनुसार काम नभएको भन्दै आलोचना गर्नुभन्दा समाधानमा सहकार्य गर्ने पक्षमा रहेको उनले बताइन्।
रास्वपाको सरकार रहेको सन्दर्भ उल्लेख गर्दै उनले पार्टी नेतृत्वसँग मिलेर ‘टिम स्पिरिट’मा काम गर्न आफू प्रतिबद्ध रहेको जनाएकी छन्।
सांसद दर्शनाले प्रभावित सुकुम्बासीहरूसँग डर र त्रासका लागि माफी माग्दै सरकारबाट सुरक्षित आवासको व्यवस्था हुनैपर्ने बताएकी छन्। साथै, सुरक्षा निकायलाई बल प्रयोगभन्दा संवाद र समझदारीमार्फत शान्तिपूर्ण रूपमा समस्या समाधान गर्न आग्रह गरेकी छन्।
'हटाउने मात्र होइन, व्यवस्थापन गर्ने' भन्दै उनले आगामी दिनमा सुकुम्बासीलाई लालपुर्जा भएका नागरिकका रूपमा देख्न चाहेको धारणा व्यक्त गरेकी छन्।