
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ को मस्यौदा तयार पारी सरोकारवालाहरूबाट राय सुझाव माग गरेको छ।
मन्त्रालयले शनिबार एक सूचना जारी गर्दै प्रस्तावित रणनीतिलाई थप परिष्कृत, व्यावहारिक र प्रभावकारी बनाउन विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाको सुझाव आवश्यक रहेको जनाएको हो।
मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी कार्यसूचीको बुँदा नं. ७४ (क) र (ग) बमोजिम ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले यो रणनीति तयार गर्न उच्चस्तरीय अध्ययन समिति गठन गर्नुभएको थियो। उक्त समितिले तयार पारेको मस्यौदा बिहीबार मन्त्री श्रेष्ठ समक्ष पेश गरेको हो।
रणनीतिको मुख्य उद्देश्य आन्तरिक रूपमा ऊर्जाको खपत बढाउने र खपत गरी बढी भएको विद्युत् निर्यातलाई व्यवस्थित र प्रभावकारी बनाउनु रहेको छ। मन्त्रालयले यस प्रक्रियामा निजी क्षेत्र, नागरिक समाज, सरकारी निकाय र विषय विज्ञहरूको व्यापक सुझाव समेट्न चाहेको छ।
मन्त्रालयको वेबसाइटमा उपलब्ध रहेको उक्त मस्यौदा अध्ययन गरी इच्छुक व्यक्ति वा संस्थाले तीन दिनभित्र इमेल वा फिडब्याक पोर्टलमार्फत आफ्ना राय सुझावहरू उपलब्ध गराउन सक्नेछन्। प्राप्त भएका महत्वपूर्ण सुझावहरूलाई समेटेर रणनीतिलाई अन्तिम रूप दिइने मन्त्रालयले जनाएको छ।