
काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारको सुकुमवासी बस्तीमा डोजर चलाइएको छ। विगतमा पटक–पटक बस्ती खाली गराउने प्रयास हुँदा निकै तनावपूर्ण र हिंसक झडप हुने गरेको यस क्षेत्रमा शनिबार भने कुनै अवरोध र विरोधबिना नै बिहानैदेखि शान्तिपूर्ण रूपमा संरचनाहरू भत्काउन शुरू गरिएको हो ।
सरकारले नदी किनारको सार्वजनिक जग्गा खाली गर्न दिएको निश्चित समयसीमा (अल्टिमेटम) सकिएसँगै डोजर परिचालन गरिएको हो । विगतमा महानगरपालिकाको डोजर देख्नेबित्तिकै घरेलु हतियारसहित प्रतिकारमा उत्रिने सुकुमवासीहरू यसपटक भने आफैँले आफ्ना घर–टहरा खाली गरिरहेका छन् ।
सरकार र स्थानीय प्रशासनले दिएको चेतावनी तथा बस्ती व्यवस्थापनका लागि भएका पछिल्ला संवादका कारण बस्तीका बासिन्दाले शुक्रबारदेखि नै धमाधम आफ्ना सामानहरू सुरक्षित स्थानमा सार्न शुरू गरेका थिए । शनिबार डोजर चल्दा धेरैजसो घरहरू खाली भइसकेका छन् भने कतिपयले डोजर चल्दै गर्दा पनि आफ्ना बाँकी सामान ओसारिरहेका छन् ।
थापाथलीको यो बस्ती हटाउने प्रयास धेरै पहिलादेखि भएको थियो । यसअघि पनि यहाँ डोजर चलाएर बस्ती भत्काएको थियो । तर, त्यसको केही समयपछि पुनः सुकुमवासीहरू सोही स्थानमा फर्किएर टहरा बनाएका थिए ।
त्यसयता काठमाडौं महानगरपालिका र एकीकृत बागमती सभ्यता विकास समितिले पटक–पटक बस्ती खाली गराउन खोज्दा सुकुमवासी र प्रहरीबीच झडप हुने गरेको थियो । विशेषगरी २०७९ साल मंसिरमा महानगरपालिकाको टोली डोजर लिएर पुग्दा बस्तीका बासिन्दाले ढुङ्गामुढा गर्दा महानगरका प्रहरी प्रमुखसहित धेरै सुरक्षाकर्मी घाइते भएका थिए ।
बस्तीमा डोजर चल्दै गर्दा सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उल्लेख्य उपस्थिति रहे पनि कुनै अप्रिय घटना भने घटेको छैन ।