
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० प्रगतिटोलमा डिप ट्युबवेल जडान भएपछि सिँचाइ सुविधा पुगेको छ। वर्षौंदेखि सिँचाइ अभाव झेल्दै आएका किसानमा उत्साह देखिएको छ।
किसान परमानन्द जोशीले सिँचाइ अभावका कारण उत्पादन सन्तोषजनक नहुने समस्या अब हटेको बताए । पानी सहज उपलब्ध हुँदा उत्पादन बढ्ने अपेक्षा गरिएको छ।
सुदूरपश्चिम प्रदेश सरकारको पहलमा रु २५ लाखभन्दा बढी लगानीमा ट्युबवेल जडान गरिएको हो। योजना आर्थिक मामिलामन्त्री बहादुरसिंह महराको संसदीय विकास कोषबाट विनियोजित बजेटमार्फत जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले कार्यान्वयन गरेको हो ।
वडाध्यक्ष लालबहादुर ऐरका अनुसार ट्युबवेल सञ्चालनसँगै ५० भन्दा बढी किसान प्रत्यक्ष लाभान्वित भएका छन्। अब बाँझोजस्तै रहेका खेतमा अन्नबाली, तरकारी र नगदे खेती विस्तार गर्न सकिने भएको छ ।
किसान हरिकृष्ण चौधरीले सिँचाइ सुविधा पुगेपछि व्यावसायिक खेतीतर्फ आकर्षण बढेको बताए। पहिले पानी अभावका कारण सीमित खेती गर्नुपर्थ्यो भने अहिले समस्या हटेको उनको भनाइ छ।
करिब ६० बिघा जमिनमा सिँचाइ पुग्ने क्षमताको ट्युबवेलबाट उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ। तर पानी वितरणका लागि पाइपलाइन विस्तार अझै बाँकी रहेको किसानहरूले बताएका छन्।