
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोटको गृहकार्यलाई अगाडि बढाएको छ ।
उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी, समावेशी, योग्यतामा आधारित र प्रणालीगत बनाउने उद्देश्यका साथ पार्टीले आफ्ना सबै निर्वाचन क्षेत्र समितिहरूसँग सुझाव माग गरेको हो ।
पार्टीको केन्द्रीय समितिको बैठकले गरेको निर्णयअनुसार सह-महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ७ सदस्यीय 'स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा तथा क्याण्डिडेट क्लव सम्पादन समिति' गठन गरिएको थियो ।
सोही समितिको गत वैशाख १४ गते बसेको बैठकले संघीय निर्वाचनको अनुभव र सिकाईका आधारमा आगामी स्थानीय निर्वाचनको उम्मेदवार छनोट प्रक्रियालाई थप वैज्ञानिक र जनमुखी बनाउन तल्लो तहबाटै राय लिने निर्णय गरेको हो ।
केन्द्रीय सचिव आरके ढुंगानाद्वारा जारी परिपत्रमा संघीय निर्वाचनमा मुख्य भूमिका निर्वाह गरेका निर्वाचन क्षेत्र समितिहरूलाई आ–आफ्नो समितिमा गहन छलफल गरी व्यवहारिक, वस्तुनिष्ठ र कार्यान्वयन योग्य सुझावहरू पठाउन निर्देशन दिइएको छ । समितिहरूले आगामी वैशाख १८ गतेभित्र इमेलमार्फत आफ्ना सुझावहरू केन्द्रमा बुझाउनुपर्नेछ ।
पार्टीले उम्मेदवार छनोटका लागि तय गरिने रूपरेखालाई प्रभावकारी बनाउन र योग्य उम्मेदवारको पहिचानका लागि 'क्याण्डिडेट क्लव' जस्ता अवधारणालाई समेत प्राथमिकतामा राखेको छ । स्थानीय आवश्यकता र भावनालाई समेट्दै विश्वसनीय निर्वाचन प्रणाली विकास गर्नका लागि देशभरका समितिहरूको सक्रिय सहभागिता रहने विश्वास पार्टीले लिएको छ ।