
नगरबासीलाई सस्तो मूल्यमा औषधि उपलब्ध गराउनेगरी रूपन्देहीको तिलोत्तमा नगरपालिकाले फार्मेसी (औषधी पसल) सञ्चालनमा ल्याएको छ । वडा नम्बर–५ मणिग्राममा सञ्चालित सुलभ फार्मेसीको बुधबार नगरप्रमुख (मेयर) रामकृष्ण खाँणले उद्घाटन गरे ।
फार्मेसीमा जुनसुकै ठाउँका सेवाग्राहीले औषधिको अधिकतम खुद्रा मूल्य (एमआरपी) को २५ प्रतिशत छुट पाउनेछन् ।
पालिकाद्वारा सञ्चालित औषधि पसल नेपालकै पहिलो फार्मेसी रहेको मेयर खाँणले दाबी गरे । खाँणले आउँदो वर्षदेखि पालिकाले प्याथोलोजी सेवा पनि सञ्चालन गर्ने बताए ।

नगरपालिकाले बुट्स मेडिको प्रालिसँग ५ वर्षे सम्झौता गरेको छ । घरभाडा नगरपालिकाले वार्षिक २ लाख ५० हजार तिरिदिने छ भने, अन्य सबै छुट सेवा मेडिकोले उपलब्ध गराउने प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए । फार्मेसीमा सबै देश र कम्पनीका औषधि उपलब्ध हुनेछन् ।
नगरपालिकाका कार्यपालिका सदस्य सुरेन्द्र श्रीले दीर्घरोगी र नियमित औषधि सेवा गर्ने बिरामीलाई जोड दिए फार्मेसीको अवधारणा पालिकाले अघि सारेको बताए । यसले बजारका फार्मेसीबाट महँगो मूल्यमा औषधि किन्नुपर्ने बाध्यता हटाउन यसले सहयोग पुर्याउने विश्वास लिइएको छ ।