०९ साउन २०८३, शनिबार

ओझेलमा म्याग्दीको तातोपानी कुण्ड

बैशाख २३, २०८३
म्याग्दी
ओझेलमा म्याग्दीको तातोपानी कुण्ड

म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरमा रहेको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा परेको छ । पूर्वाधारको अभाव, प्रचार-प्रसारको कमी र उचित व्यवस्थापन नहुँदा प्राकृतिक उपचार र पर्यटकीय स्थल बनाउन सकिने तातोपानी कुण्ड ओझेलमा परेको हो । 

बगरको जेल्तुङ गाउँ नजिकै पहाडको फेदी र म्याग्दी नदीको किनारमा जमिनभित्रबाट ५० डिग्री सेल्सियस तापक्रममा प्राकृतिक रूपमा तातोपानी निस्कने मुहान रहेको छ । 

तातोपानी कुण्डसम्म पुग्ने पदमार्गमा झोलुङ्गे पुल, स्नान गर्ने ब्यवस्थित पोखरी र आश्रयस्थलको अभाव रहेको कुण्डको विशेषता र महत्व स्थानीय स्तरमै सीमित भएकाले ओझेलमा परेको धवलागिरी गाउँपालिका–४ का वडा सदस्य हरिप्रसाद तिलिजाले बताए । 

'बगर र आसपासका गाउँका बासिन्दाले प्राकृतिक उपचारका लागि प्रयोग गर्ने तातोपानी कुण्डलाई ब्यवस्थित गर्ने प्रयासमा छौँ,' उनले भने, 'वर्षौअघिदेखि हालसम्म सामान्य हिसाबले सञ्चालन हुँदै आएको तातोपानीलाई प्राकृतिक उपचार स्थलको रूपमा विकास गर्न व्यवस्थापन, पूर्वाधार निर्माण र प्रर्वद्धनको काम अघि बढाएका हौँ ।'

बगरमा निर्माण शुरू भएको ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत आयोजनाको सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत तातोपानी कुण्डमा महिला र पुरुषका लागि छुट्टाछुटै स्नान गर्न मिल्ने गरी पोखरी, आश्रयस्थललगायत पूर्वाधार निर्माणको तयारी गरेको वडा सदस्य तिलिजाले बताए । 

पूर्वाधार निर्माणका लागि जग्गा व्यवस्थापन भइसकेको छ । हाल ढुङ्गाले छाएको टहराभित्र रहेको पोखरीमा शरीर डुबाएर स्नान गर्ने व्यवस्था रहेको छ । बगरदेखि दोभान जोड्ने सडकदेखि तातोपानी कुण्ड जाने बाटोमा पर्ने म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माणका लागि पनि पहल थालिएको छ । 

यस तातोपानीको तलाउमा स्नान गरेमा चोट पटक लागेको, ढाड दुख्ने, छाला, गानोगोला, सर्केमर्केको, ग्यास्ट्रिकलगायत स्वास्थ्य समस्या निको हुने धवलागिरी गाउँपालिका–४ खिवाङका अमर रसाइलीले बताए । 

'ढाड दुख्ने समस्या निको हुने भएकाले हरेक वर्ष १० देखि १५ दिनसम्म तातोपानी डुब्न आउने गरेको छु,' उनले भने, 'तातोपानीमा दैनिक दुई/दुई घण्टाका दरले शरीर डुबाएर पानी थेरापी गरेपछि चिसो लाग्दैन, चोटपटक लागेको, खाना अरुची हुने समस्या पनि निको हुने अनुभव छ ।'

हाल बगर, मुदी, नाउरा, खिवाङ, मल्कवाङ, मलम्पार, मराङ, बिम, मुनाका बासिन्दाहरू यहाँको तातोपानी कुण्डमा शरीर डुबाएर स्नान गरी उपचारका लागि आउने गरेका छन् । वार्षिक दुई सयदेखि तीन सय जनाले तातोपानी स्नान गर्न आउने गरेका छन् । 

बगर गाउँदेखि १० मिनेट पैदलयात्रा गरेपछि पुगिने तातोपानी कुण्ड नजिकैसम्म हालै सडक यातायातको सुविधा पनि पुगेको छ । 

यस तातोपानी कुण्ड र सँगै रहेको अर्मके झरनालाई व्यवस्थित गर्न सकेमा प्राकृतिक उपचार स्थल र पर्यटकीय गन्तव्यका रूपमा विकास हुने सम्भावना रहेको छ । तातोपानी कुण्ड र अर्मके झरना चक्रीय धौलागिरि पदमार्गमा समेटिएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्