
देशभरका अव्यवस्थित बसोबासी र भूमिहीन सुकुमबासीहरूको राष्ट्रिय भेला जेठ ३ गते बुटवलमा हुने भएको छ । अन्यायविरुद्ध एकीकृत आवाज निर्माण गर्न भन्दै नेपाल भूमिहीन सुकुमबासी संघर्ष समिति, रूपन्देहीले भेला आयोजना गरेको हो ।
संघर्ष समितिका संयोजक खगेन्द्र पौडेलले जेठ ३ गते दिउँसो १ बजे बुटवलको राजमार्ग चौराहाबाट र्याली शुरू हुने र ट्राफिक चोकमा पुगेर सरकारविरुद्ध दबाबमूलक कोणसभा आयोजना गरिने जानकारी दिए ।
अर्को दिन जेठ ४ गते बुटवलस्थित उद्योग वाणिज्य संघको हलमा अव्यवस्थित बसोबासी तथा भूमिहीन सुकुम्बासीको नयाँ कार्यसमिति चयन गर्ने कार्यक्रमसमेत तय गरिएको पौडेलको भनाइ छ ।
कार्यक्रममा देशभरबाट ३० हजार अव्यवस्थित बसोबासी तथा भूमिहीन सुकुम्बासी सहभागिता रहने उनको भनाइ छ । संघर्ष समितिले रूपन्देहीका पालिका स्तरमा संघर्ष समिति गठन गरिसकेको जनाएको छ ।
संयोजक पौडेलले सरकारले रणनीतिक रूपमा सुकुम्बासीमाथि दमन बढाएको महसुस भएकाले देशभरका भूमिहीन र अव्यवस्थित बसोबासीलाई एउटै आवाजमा संगठित गर्न राष्ट्रिय सम्मेलन आयोजना गरिएको बताए ।
सम्मेलनपछि देशव्यापी आन्दोलनको स्वरूप तय गरिने संघर्ष समितिका नेता विरेन्द्र विकले जानकारी दिए । संघर्ष समितिले भू–उपयोग नीति २०७६ कायम गर्नुपर्ने, जाँच सम्पन्न भएका स्थानमा तत्काल लालपूर्जा वितरण गर्नुपर्ने तथा खारेज गरिएको भूमि आयोग पुनः गठन गरी बसोबास गरिरहेका स्थानमा पुनः नापजाँच शुरू गर्नुपर्ने माग अघि सारेको छ ।
राष्ट्रिय सम्मेलनका लागि हालसम्म २२ जिल्लाका प्रतिनिधिहरू सम्पर्कमा आइसकेको तथा अन्य जिल्लाबाट पनि सहभागिताको तयारी भइरहेको संघर्ष समितिले जनाएको छ ।