
नेपाल ब्याडमिन्टन संघद्वारा काठमाडौंमा आयोजित ४२ औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष डबल्सतर्फको उपाधि एपीएफ क्लबका प्रिन्स दाहाल र देवराज रानाको जोडीले जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार खेलिएको फाइनल खेलमा उक्त जोडीले आफ्नै क्लबका भोजबहादुर गुरुङ र क्षितिज खनालको जोडीलाई पराजित गरे ।
प्रिन्स र देवराजको जोडी २१-१० र २१-१८ को सोझो सेटमा विजयी हुँदा भोजबहादुर र क्षितिजको जोडीले उपविजेतामा चित्त बुझाए ।
उक्त स्पर्धामा नेपाली पुलिस क्लबका सुनिल जोशी र कबिर केसीको जोडी तथा बागमती प्रदेशका राजु गरञ्जा र सुमन शाक्यको जोडी तेस्रो भए ।
प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका एक सय १५ खेलाडीले विभिन्न पाँच स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
यसैगरी, महिला डबल्सतर्फको उपाधि आर्मी क्लबका अमिता गिरी र रसिला महर्जनको जोडीले जित्यो ।
उक्त जोडीले फाइनलमा कोशी प्रदेशकी रोजी राई र निसम सुब्बाको जोडीलाई २१–१७ र २१–१७ को सोझो सेटमा हरायो ।
उक्त स्पर्धामा कोशी प्रदेशकी नङ्सल तामाङ र भावनादेवी किदम तथा नेपाल पुलिस क्लबका सीता राई र सुष्मा श्रेष्ठको जोडी संयुक्त रूपमा तेस्रो भयो ।