०५ साउन २०८३, मंगलबार

जङ्गली भ्याकुर खाँदा एक जनाको मृत्यु, आठ बिरामी

जेठ ४, २०८३
बाग्लुङ
जङ्गली भ्याकुर खाँदा एक जनाको मृत्यु, आठ बिरामी

निगुरो टिप्न जङ्गल गएकाहरूले ल्याएको भ्याकुर खाँदा पश्चिम बागलुङको बडिगाडमा एक जनाको मृत्यु भएको छ । अन्य आठ जना बिरामी परेका छन् ।

घर नजिकैको जङ्गलबाट ल्याएको भ्याकुर खाँदा बडिगाड गाउँपालिका–५ दाग घर भई खार बजार बस्ने ७२ वर्षीय फिरमकुमारी घिमिरेको ज्यान गएको इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए ।

प्रहरी निरीक्षक मानन्धरका अनुसार, दीर्घरोगी घिमिरेको घरमै मृत्यु भएको हो भने अन्य आठ जना भ्याकुर खाएपछि बिरामी परेका छन् ।

बिरामी हुनेहरूमा बडिगाड गाउँपालिका–५ खारका ५५ वर्षीय दुरपति कामी, ५५ वर्षीय विष्णु घिमिरे, २३ वर्षीय शारदा न्यौपाने, ४३ वर्षीय सुरेन्द्र विक, ६३ वर्षीय भोजराज घिमिरे, ६२ वर्षीय पुतली घिमिरे, ६५ वर्षीय खिमानन्द घिमिरे र १४ वर्षीय अबिसन घिमिरे रहेका छन् ।

बिरामीमध्ये दुरपति कामीको अवस्था गम्भीर रहेको मानन्धरले जानकारी दिए ।

बिरामी सबैको अहिले बुर्तिवाङ अस्पतालमा उपचार भइरहेको र एक जनाको अवस्था जटिल रहेको अस्पतालका सूचना अधिकारी पार्वती अर्यालले जानकारी दिइन् ।

सूचना अधिकारी अर्यालका अनुसार बिरामीहरू चक्कर लाग्ने, हातखुट्टा लुलो हुने र बान्ता हुने लक्षण देखिएको छ ।

नियमित जस्तै उनीहरू आइतबार पनि जङ्गलमा निगुरो टिप्न गएको र खाजामा दिउँसो जङ्गलबाट ल्याएको भ्याकुर खाएपछि बिरामी परेको स्थानीयले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्