
कोशी प्रदेश सरकारले प्रदेश लोकसेवा आयोगको रिक्त सदस्य पदमा प्रतिपक्षी दल नेकपालाई पनि समेटेको छ।
एमाले र कांग्रेसको संयुक्त सरकार रहेको कोशीमा राजनीतिक समझदारीका आधारमा नेकपालाई समेत आयोगको सदस्यमा समेटिएको हो।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार आयोगको रिक्त दुई सदस्य पदमा भीमबहादुर फुदुङ लिम्बु र रमा थापालाई नियुक्त गरिएको छ। नवनियुक्त सदस्यमध्ये लिम्बु नेकपा (माओवादी केन्द्र) निकट हुन् भने थापा नेपाली कांग्रेस निकट हुन्।
प्रदेशमा हाल नेकपा (एमाले) र नेपाली कांग्रेसको समीकरण भए पनि भविष्यमा हुन सक्ने राजनीतिक सहकार्यलाई ध्यानमा राखेर नेकपालाई भाग दिइएको बताइएको छ।
एमालेका एक नेताले भने, ‘सरकारमा सहकार्य गर्ने सहमति भइसकेकाले नेकपालाई पनि आयोगमा भागबण्डा गरिएको हो। भोलि एमालेको बैठकपछि नेकपा पनि सबै प्रदेश सरकारमा सहभागी हुने सम्भावना छ, त्यसैले सत्ता सहकार्यको सुरुवात स्वरुप यो नियुक्ति गरिएको हो।’
प्रदेश लोकसेवा आयोग ऐन अनुसार मुख्यमन्त्रीको अध्यक्षतामा रहने सिफारिस समितिमा सभामुख र प्रमुख प्रतिपक्षी दलका नेता सदस्य रहने व्यवस्था छ। सोही समितिले अध्यक्ष र सदस्यको नाम सिफारिस गर्ने गर्दछ। मुख्यमन्त्री हिकमत कार्की छन् भने सभामुख अम्बर बहादुर विष्ट र प्रमुख प्रतिपक्षी दलको नेतामा नेकपाका इन्द्र आङबो रहेका छन् ।
नवनियुक्त दुवै सदस्यको शपथ ग्रहण भोलि (बिहीबार) बिहान ८ः ३० बजे हुने तय भएको छ। प्रदेश प्रमुख परशुराम खापुङले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको छ।
प्रतिपक्षी दललाई समेत संवैधानिक निकायमा भाग दिएर सरकारले प्रदेशमा सहमतिको राजनीति अघि बढाउन खोजेको देखिएको छ।