
काठमाडौँको बानेश्वर वितरण केन्द्र अन्तर्गतका विभिन्न क्षेत्रमा आज ५ घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ।
काठमाडौँ उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाले शंखमुल फिडरमा वितरण प्रणालीलाई भूमिगत गर्ने कार्य गर्नुपर्ने भएकाले विद्युत कटौती गर्न लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार आज बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म दोभान पुल, श्रीनगर मार्ग, बागमती अपार्टमेन्ट, बुद्ध बिहार, शंखमुल पुल एरिया, रोजबड स्कुल, भृगु मार्ग र रुद्रमति मार्ग क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध हुनेछ।
निर्धारित समयअगावै काम सकिएमा विद्युत आपूर्ति चाँडै सुचारु हुन सक्ने र मौसम प्रतिकूल भएमा कार्य स्थगित गरिने पनि बानेश्वर वितरण केन्द्रले जानकारी दिएको छ। यसबाट उपभोक्तामा पर्न जाने असुविधाप्रति प्राधिकरणले एक सूचनामार्फत क्षमा मागेको छ।