१० साउन २०८३, आइतबार
बैठक समापनको तयारी

एमाले सचिवालय बैठक आज पनि, ओलीले सम्बोधन गर्ने

जेठ १०, २०८३
काठमाडौं
एमाले सचिवालय बैठक आज पनि, ओलीले सम्बोधन गर्ने

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठक आज आइतबार पनि बस्ने भएको छ ।

उपमहासचिव लेखराज भट्टका अनुसार बैठक बिहान ११:३० बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डु भक्तपुरमा शुरू हुनेछ । बैठकमा अब बोल्न बाँकी चार सचिवले आफ्नो धारणा राख्नेछन् ।

सबैको धारणा आएपछि प्रस्तावित एजेन्डामाथि निर्णय प्रक्रियालाई अगाडि बढाइने भट्टले बताए । आइतबारको बैठकमा अध्यक्ष ओलीले समेत निर्देशनात्मक सम्बोधन गर्नेछन् ।

एमाले सचिवालय बैठक शुक्रबारदेखि जारी छ । शनिबार दोस्रो दिनको बैठकमा पार्टीका महासचिव, तीन उपमहासचिव र पाँच सचिवसहित नौ जना नेताहरूले आफ्नो धारणा राखेका थिए । 

बैठकमा बोल्ने अधिकांश नेताहरूले अध्यक्ष ओलीमाथि नेतृत्व छाड्न दबाब बढाएका छन् । शनिबारसम्म बोल्ने नेताहरूमध्ये अधिकांशले ओलीले मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् ।

पार्टीभित्र पार्टी पुनर्गठनको आवाज बलियोसँग उठेको भन्दै नेताहरूले अब अहिलेकै नेतृत्वबाट पार्टी र आन्दोलन अघि बढ्न नसक्ने बताएका छन् । 

शनिबारको बैठकमा धारणा राखेका महासचिव शंकर पोखरेल पनि उपाध्यक्षहरूकै लाइनमा उभिए । महासचिव पोखरेलले अहिलेकै अवस्थामा पार्टीको आन्दोलन र पार्टी अघि बढ्न नसक्ने बताए । 

उनले राजीनामा भन्ने शब्द प्रयोग नगरे पनि अहिलेकै नेतृत्वमा आन्दोलन अघि बढ्न नसक्ने कुरा प्रस्टसँग राखेको बैठकमा सहभागी एक नेताले बताए ।

‘महासचिवले पनि हिजो उपाध्यक्षहरूले बोलेकै लाइनमा बोल्नुभयो । उहाँले राजीनामा भन्ने शब्द त प्रयोग गर्नुभएन तर अब अहिलेकै नेतृत्वबाट पार्टी र आन्दोलन अघि बढ्न नसक्ने कुरा राख्नुभयो’, एमालेका ती पदाधिकारीले लोकान्तरसँग भने ।

बैठकमा महासचिव पोखरेलले पार्टीभित्र गम्भीर समस्या रहेको बताए । उनले कार्यकर्तामा निराशा बढिरहेको र त्यो निराशा यत्तिकै आशामा नबदलिने बताएका थिए । 

‘अब पार्टी पुनर्गठन गरेर जानुपर्छ । अहिलेकै अवस्थाले हुँदैन । पार्टीभित्र  गम्भीर समस्या छ । पुनर्गठनको आवाज बलियो बनिरहेको छ । कार्यकर्तामा रहेको निराशा यत्तिकै आशामा बदलिँदैन’, महासचिव पोखरेलको भनाइ उदृत गर्दै एक पदाधिकारीले लोकान्तरसँग भने ।

शुक्रबार पनि उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त, गोकर्ण विष्टलगायतले ओलीले मार्ग प्रशस्त गर्नुपर्ने बताएका थिए । 

अहिलेसम्म बोलेका पदाधिकारीमध्ये उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव महेश बस्नेत मात्र ओलीको बचाउमा उत्रिएका छन् । उनीहरूले संकटको बेला नेतृत्वको रक्षा गरेर जानुपर्ने धारणा राखेका छन् । 

शनिबारको बैठकमा सचिव बस्नेतले धारणा राख्दै ओलीको राजीनामा माग्ने नेताहरूलाई अपराधीको संज्ञा समेत दिएका थिए  ।

salt training

कमेन्ट गर्नुहोस्