
तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइन निर्माणका लागि चितवनतर्फको वनमा पर्ने रुखहरूको छपान सकिएको छ । आयोजनाको प्याकेज–३ अन्तर्गत प्रसारण लाइन निर्माणका लागि चितवन जिल्लामा पर्ने रुखहरूमा छपानकार्य सकिएको हो ।
दमौली–भरतपुर २२० केभी प्रसारण लाइनको मार्गधिकारमा पर्ने चितवन जिल्लास्थित राष्ट्रिय वनमा रहेका रुखको छपान कार्य सकिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । प्रसारण लाइनको टावर निर्माण र मार्गधिकारमा चितवन र तनहुँ जिल्लामा पर्ने वन क्षेत्रको जग्गा र त्यहाँ रहेका बोटविरुवा हटाउन वन तथा भूसंरक्षण विभागसँग सम्झौता भएको थियो ।
डिभिजन वन कार्यालयबाट रुख छपानको प्रतिवेदन तयार गरी बागमती प्रदेश वन निर्देशनालयमा बुझाइएको भण्डारीले बताए । तनहुँ जिल्लास्थित रुखहरूको छपान कार्य भने जारी रहेको उनले बताए । प्रसारण लाइन निर्माणका लागि तनहुँ र चितवनमा पर्ने ९२.७ हेक्टर वन क्षेत्रको जग्गा भोगाधिकार पाउनुका साथै त्यहाँ रहेका नौ हजार १२७ रुखपोल हटाउन अनुमति प्राप्ति भएसँगै काम अगाडि बढेको छ ।
मन्त्रिपरिषद्को निर्णयबमोजिम आयोजनाको दमौली भरतपुर–२२० केभी प्रसारण लाइनको टावर निर्माण र मार्गधिकारमा चितवन र तनहुँमा पर्ने वन क्षेत्रको जग्गा र त्यहाँ रहेका बोटविरुवा हटाउन तनहुँ हाइड्रोपावर लिमिटेड र वन तथा भूसंरक्षण विभागबीच हालै सम्झौता भएको थियो ।