
इन्डियन प्रिमियर लिग (आइपीएल) २०२६ अन्तर्गत आइतबार सम्पन्न खेलमा मुम्बई इन्डियन्सलाई ३० रनले पराजित गर्दै राजस्थान रोयल्स प्लेअफमा पुगेको छ ।
मुम्बईको घरेलु मैदान वानखेडे स्टेडियममा भएको खेलमा जित निकाल्दै राजस्थानले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउँदै २०५ रनको विशाल योगफल तयार पारेको थियो । राजस्थानका लागि कुनै पनि ब्याटरले अर्धशतक बनाउन नसके पनि ध्रुव जुरेलले ३८, जोफ्रा आर्चरले ३२ र दासुन शनाकाले २९ रनको महत्वपूर्ण योगदान दिए । मुम्बईका दीपक चाहर र शार्दूल ठाकुरले २–२ विकेट लिए ।
२०६ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १७५ रन मात्र बनाउन सक्यो । मुम्बईको सुरुवात निकै खराब रह्यो । ओपनर रोहित शर्मा शून्यमै आउट भए भने पावरप्लेमै टोलीले ४ विकेट गुमाएको थियो । सूर्यकुमार यादवले ६० रन र हार्दिक पाण्ड्याले ३४ रन बनाएर पुनरागमनको प्रयास गरे पनि टोलीलाई जित दिलाउन सकेनन् । बलिङतर्फ राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिए भने नान्द्रे बर्गर, ब्रिजेश शर्मा र यश पुञ्जाले २–२ विकेट हात पारे ।
यो जितसँगै आइपिएल २०२६ का शीर्ष ४ टोलीको टुंगो लागेको छ । रोयल च्यालेन्जर्स बेंगलुरु, गुजरात टाइटन्स, सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स प्लेअफमा पुगेका हुन् । मे २६ मा हुने पहिलो क्वालिफायरमा बेंगलुरु र गुजरात भिड्नेछन् भने मे २७ मा हुने एलिमिनेटरमा हैदराबाद र राजस्थानबीच प्रतिस्पर्धा हुनेछ ।