०५ साउन २०८३, मंगलबार

दीपलाई दोहोरो उपाधि चुमाउँदै सकियो ‘बागमती प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता’

जेठ ११, २०८३
काठमाडौं
दीपलाई दोहोरो उपाधि चुमाउँदै सकियो ‘बागमती प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता’

सिन्धुलीका दीप थिङलाई दोहोरो उपाधि चुमाउँदै ‘जननायक बीपी कोइराला बागमती प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता–२०८३’ को पहिलो संस्करण सम्पन्न भएको छ ।

सक्षमले पुरुष एकल र यू–१५ तर्फको उपाधि जिते । उनले पुरुष एकलतर्फको फाइनलमा काठमाडौंका सक्षम ढकाललाई पराजित गरे ।

बसुन्धरास्थित फिटनेश पार्क ब्याडमिन्टन एकेडेमीमा भएको उक्त स्पर्धामा ललितपुरका सशिन डंगोल र सुमन शाक्य संयुक्त रूपमा तेस्रो भए ।

यसैगरी, दीपले यू–१५ तर्फको उपाधि पनि जिते । उक्त स्पर्धाको फाइनलमा उनले ललितपुरका रिजन मगरलाई पराजित गरे ।

उक्त स्पर्धामा चन्द्रागिरीका बिप्लव खड्का र कीर्तिपुरका समानता भद्र बज्राचार्यले संयुक्त रूपमा तेस्रो स्थान हासिल गरे ।

यसैगरी, सिनियर (५० वर्षमाथि) डबल्सतर्फको उपाधि काठमाडौंका प्रेम घले र सुवाष श्रेष्ठको जोडीले जित्यो । उक्त जोडीले फाइनलमा काठमाडौंकै सांगे शेर्पा र सूर्य स्याङ्तानको जोडीलाई पराजित गर्‍यो ।

उक्त स्पर्धामा ललितपुरका श्याम गुरुङ र देवानसिंह राई तथा काठमाडौँका सुनिल बज्राचार्य र विकाश शाक्यको जोडी संयुक्त रुपमा तेस्रो भए ।

null

यसैगरी, जुनियर यू–१३ गल्सतर्फको उपाधि काठमाडौँकी अजारेन्का शेरचनले जितिन् । उनले फाइनलमा रामेछापकी अश्रुती कार्कीलाई हराइन् । उक्त स्पर्धामा काठमाडौंकी खुश्बु थापा मगर र सुजाता मगर संयुक्त रुपमा तेस्रो भए ।

यसैगरी, पुरुष डबल्सतर्फको उपाधि सिन्धुलीका सनम खपाङ्गी र धादिङका लक्ष्मण मल्ल ठकुरीको जोडीले जित्यो । उक्त जोडीले फाइनलमा धादिङका इश्वर थापा मगर र राम मल्ल ठकुरीको जोडीलाई हरायो ।

उक्त स्पर्धामा चितवनका विधान गुरुङ र भक्तपुरका रेसोद सुवाल तथा ललितपुरका सशिन डंगोल र भुवन श्रेष्ठको जोडी संयुक्त रूपमा तेस्रो भए ।

जननायक बीपी कोइराला स्मृति ट्रस्ट काठमाडौंद्वारा आयोजित प्रतियोगिताका विजयी खेलाडीहरुलाई एक समारोहबीच पुरस्कार वितरण गरियो ।

null

विजयी खेलाडीलाई बीपी कोइराला स्मृति ट्रस्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुली, ट्रस्टका महासचिव एवम् पूर्वसंविधानसभा सदस्य रामचन्द्र पोख्रेललगायतले पुरस्कार वितरण गरे ।

आयोजक संस्थाका निर्देशक पुराजुलीले बीपी कोइराला स्मृति ट्रस्टले खेलकुद क्षेत्रको विकासका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको बताए । उनले आगामी दिनमा पनि यो प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

प्रतियोगितामा १३ जिल्लाका एक सय २० जना खेलाडीको सहभागिता रहेको जानकारी बागमती प्रदेश ब्याडमिन्टन संघका संयोजक रुद्रबहादुर थिङले दिए ।

आयोजकका अनुसार, सुरुमा दुई दिनसम्म सञ्चालन हुने भनिए पनि सोचेभन्दा बढी खेलाडीको सहभागिता रहेकाले प्रतियोगिता थप एक दिन लम्बिएको थियो ।

प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघ र बागमती प्रदेश ब्याडमिन्टन संघको प्राविधिक सहयोग रहेको थियो । प्रतियोगिताको मिडिया पार्टनरका रूपमा लोकान्तर डट्कम रहेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्