०२ साउन २०८३, शनिबार

कृषकको सम्मानलाई राज्यले नै प्राथमिकता दिनुपर्छ- राष्ट्रपति पौडेल

जेठ १५, २०८३
काठमाडौं
कृषकको सम्मानलाई राज्यले नै प्राथमिकता दिनुपर्छ- राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले कृषकको सम्मानलाई राज्यले नै प्राथमिकता दिनुपर्ने बताएका छन् । 

राष्ट्रपति पौडेलले कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा शुक्रबार आयोजित राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । 

‘किसानको मुस्कानमा राष्ट्रको खुसी लुकेको हुन्छ अनि किसानको प्रगतिमा देशको समृद्धि गाँसिएको हुन्छ, तसर्थ परिवर्तित सन्दर्भमा कृषकको सम्मानलाई राज्यले नै प्राथमिकता दिनुपर्दछ’, उनले भने । 

मुलुकको समृद्धिको प्रमुख आधार नै कृषि भएको र किसान राष्ट्रका गहना हुन् भन्दै उनले कृषि क्षेत्रलाई जीविकोपार्जन मात्र नभएर राष्ट्र निर्माणको प्रमुख आधारशिलाका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए । 

‘यसका लागि श्रम गर्ने संस्कृतिको विकास गर्नुपर्दछ, किसानको मेहनत, पसिना र समर्पणले नै देशको अर्थतन्त्र चलायमान बनेको छ’, राष्ट्रपति पौडेलले भने ।

उनले राज्य, निजी क्षेत्र तथा सम्पूर्ण सरोकारवाला निकायहरू एकताबद्ध भएर कृषिमा लगानी, प्रविधि, बजारीकरण तथा युवा सहभागिता अभिवृद्धि गर्न अग्रसर हुनुपर्ने खाँचो औंल्याए ।

‘युवाशक्तिको ऊर्जा, आधुनिक प्रविधिको प्रयोग र राज्यको दूरदर्शी नीतिसँगै कृषि क्षेत्रलाई उत्पादन, रोजगारी र समृद्धिको मूल आधार बनाउनुपर्छ, यसको लागि कृषकको सम्मान, कृषि पेसाको संरक्षण तथा आधुनिकीकरण आजको आवश्यकता हो’, राष्ट्रपति पौडेलले भने । 

राष्ट्र निर्माणको आधारस्तम्भ तथा राष्ट्रको समृद्धिका संवाहक कृषकहरूलाई सम्मान गर्न पाउँदा आफूलाई हर्ष अनुभूति भएको उनको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्