
आकर्षक जागिर र राम्रो कमाइको प्रलोभनमा पारेर भारतको उत्तर प्रदेशस्थित कुशीनगरमा बन्धक बनाइएका ४६३ जना नेपालीलाई सकुशल उद्धार गरिएको छ। लुम्बिनी प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भारतीय प्रहरीको विशेष सहयोगमा उनीहरूलाई बन्धनमुक्त गराई नेपाल ल्याएको हो।
रुपन्देहीका प्रहरी प्रमुख (एसपी) जनक शाहीका अनुसार उद्धार गरिएका सबै नागरिक र उनीहरूलाई बन्धक बनाउने गिरोहलाई आठ वटा भारतीय बसमार्फत बेलहिया नाका हुँदै नेपाल ल्याइएको छ। हाल उनीहरू सबैलाई जिल्ला प्रहरी कार्यालय भैरहवामा राखिएको छ।
नेपालको एउटा ठगी गिरोहले आकर्षक जागिरको प्रलोभन देखाएर विभिन्न जिल्लाका ती युवायुवतीहरूलाई सुनौली नाका हुँदै भारतको कुशीनगर पुर्याएको थियो। त्यहाँ पुर्याएपछि उनीहरूलाई बन्धक बनाई प्रतिव्यक्ति ७ हजार भारतीय रुपैयाँदेखि १ लाख नेपाली रुपैयाँसम्म रकम असुल गरिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) निशान्त श्रीवास्तवका अनुसार यो गिरोहले नेटवर्किङ व्यवसायको शैलीमा ठगी धन्दा चलाइरहेको थियो। त्यहाँ पुर्याइएका युवायुवतीहरूलाई एउटा समूहले तालिम दिने र अर्को समूहले मोटो रकम असुल गरेर नयाँ सदस्यहरू विस्तार गर्ने काममा जबर्जस्ती लगाउने गरेको पाइएको छ।
कुशीनगरमा बन्धक बनाएर राखिएका युवायुवतीका आफन्तले फिरौती रकम समेत माग गरिएको भन्दै इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा प्रहरीले तत्काल अनुसन्धान र खोजी कार्य शुरू गरेको थियो।

प्रहरीले प्राप्त सूचनाका आधारमा पिछा गर्दै जाँदा उनीहरूलाई बन्धक बनाएर राखिएको ठाउँ पत्ता लागेको थियो। त्यसपछि नेपाली प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरी संयुक्त अपरेसनमार्फत उनीहरूको उद्धार गरेको हो। यस घटना र ठगी गिरोहका बारेमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।