
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । उनले नेकपा (एमाले)का चार र जनता समाजवादी पार्टी (जसपा)का एक जना गरी ५ जना मन्त्री नियुक्त गरेका हुन् ।
बुधबार चार मन्त्रीले राजीनामा दिएका थिए । लगत्तै उहाँले पाँच मन्त्री थप्नुभएको हो ।
पुनर्गठित मन्त्रिमण्डलमा एमालेबाट तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै, जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ ।
चौधरी रूपन्देही, घिमिरे अर्घाखाँची, भुसाल गुल्मी, खत्री र अहिर बाँकेका हुन् । चौधरी, घिमिरे र भुसाल पहिलो पटक मन्त्री बनेका हुन् भने, खत्री र अहिले यसअघि पनि मन्त्री थिए ।
यसअघि उक्त मन्त्रालयको जिम्मेवारी जसपाकै आदेशकुमार अग्रवालले सम्हाल्दै आएका थिए । अग्रवालको स्थानमा अहिरलाई मन्त्री नियुक्त गरिएको हो ।
नवनियुक्त मन्त्रीहरूको शपथग्रहण जेठ २५ गते सोमवारका लागि तय भएको छ । बुधबार एमालेका भूमिश्वर ढकाल, खेम सारु, दिनेश पन्थी र सीता शर्माले राजीनामा दिएका थिए ।
लुम्बिनी प्रदेशमा अहिले एमाले संसदीय दलका नेता आचार्य मुख्यमन्त्री छन् । कांग्रेसले पूर्वसहमतिअनुसार नेतृत्वसहित सरकार परिवर्तन गर्ने अडान लिँदै आएको छ । जेठको पहिलो साता मन्त्री फेर्ने प्रयास भए पनि कांग्रेस संसदीय दलले मुख्यमन्त्रीसहित एकैसाथ सरकार पुर्नगठन गर्ने भनेपछि मन्त्री फेर्ने विषय लम्बिएको थियो ।
तर, एमालेका मन्त्री बन्न लाइनमा बसेका प्रदेश सभा सदस्यहरूले मन्त्री फेर्न केन्द्रमै दबाब दिएका थिए । सोहीअनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा पुराना मन्त्रीलाई राजीनामा दिन लगाएर नयाँ नियुक्त गरिएको हो ।
लुम्बिनी प्रदेश सरकारले साउन १ गतेदेखि ८ मन्त्रालय कायम गर्ने निर्णय गरेको छ । सरकारले नीति कार्यक्रममा पनि उक्त विषय प्रमुखताका साथ उल्लेख गरेको छ । तर, कांग्रेससँगको सहकार्यमा मुख्यमन्त्री पाउने दलले तीन मन्त्री पाउने र अर्को दलले ४ मन्त्री लिने यस अघिकै मौखिक सहमति भएको बताइएको छ । सरकारले असार १ गते आर्थिक वर्ष २०८३/०८४ को बजेट ल्याउँदै छ ।