२१ जेठ २०८३, बिहीबार

हुलाकमार्फत् घरघरमै राहदानी

जेठ २१, २०८३
रौतहट
हुलाकमार्फत् घरघरमै राहदानी

जिल्ला प्रशासन कार्यालय रौतहटले सेवाग्राहीको राहदानी जिल्ला हुलाक कार्यालय रौतहटमार्फत घरघरमा पुर्‍याउने सेवा शुरू गरेको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहट र जिल्ला हुलाक कार्यालयबीच गत वैशाख २४ गते भएको सम्झौतापछि पहिलो चरणमा २१ राहदानी सम्बन्धित सेवाग्राहीको घरमै पुगेर हस्तान्तरण अभियान शुरू गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बुधबार गौर नगरपालिका–२ महादेवपट्टिस्थित सेवाग्राही राजु राम र विकास पासवानको घरमा पुगेर राहदानी हस्तान्तरण गरे । राहदानी हस्तान्तरण गर्दै प्रजिअ भुसालले सरकारको सेवा जनताको घरदैलोमै पुर्‍याउने उद्देश्यअनुसार यो अभियान शुरू गरिएको बताए ।

राहदानी वितरणमा हुलाक सेवाको प्रयोग गरिएपछि सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने झन्झट कम हुनाका साथै समय र खर्च बचत हुने प्रजिअ भुसालले बताए । जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयको सहकार्यमा राहदानी वितरण प्रणालीलाई थप सहज बनाउँदै अब सेवाग्राहीले घरमै पासपोर्ट प्राप्त गर्न सक्ने व्यवस्था लागू गरिएको प्रजिअ भुसालको भनाइ छ । 

घरमै राहदानी प्राप्त गर्न चाहने सेवाग्राहीले हुलाक शुल्कस्वरूप ५५ बराबरको टिकट खर्च व्यहोर्नुपर्ने व्यवस्था गरिएको जिल्ला हुलाक कार्यालयका प्रमुख देवनाथ यादवले जानकारी दिए । उनका अनुसार पुराना तथा वितरण हुन बाँकी रहेका पासपोर्टहरूसमेत सम्बन्धित स्थानीय तहसँग समन्वय गरी हुलाकमार्फत नागरिकको घरमै पुर्‍याउने तयारी भइरहेको छ । 

ग्रामीण क्षेत्रका नागरिक, ज्येष्ठ नागरिक, महिला, विद्यार्थी तथा वैदेशिक रोजगारीका लागि तयारीमा रहेका सेवाग्राहीका लागि यो कार्य उपयोगी हुने कार्यालय प्रमुख यादवले बताए ।

salt training

कमेन्ट गर्नुहोस्