२२ जेठ २०८३, शुक्रबार

तीन दिनसम्म तराईमा तातो हावाको लहर र अत्यधिक गर्मीको जोखिम

जेठ २१, २०८३
काठमाडौं
तीन दिनसम्म तराईमा तातो हावाको लहर र अत्यधिक गर्मीको जोखिम

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी तीन दिन तराईका विभिन्न जिल्लामा तातो हावाको लहर (हिटवेभ) तथा अत्यधिक गर्मीको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्राधिकरणले बिहीबार जारी गरेको सूचनाअनुसार जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा मधेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानमा मध्यम तातो हावाको लहर चल्न सक्ने सम्भावना छ । 

यस्तै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा पनि तातो दिन (हट डे) को अवस्था रहने जनाइएको छ ।

सूचनामा लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा माथि पुग्न सक्ने उल्लेख गरिएको छ ।

प्राधिकरणले अत्यधिक गर्मी र तातो हावाका कारण मानव स्वास्थ्यमा सामान्यदेखि गम्भीर असर पर्न सक्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

प्राधिकरणका अनुसार सतर्क रहनुपर्ने जिल्लामा मोरङ, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया रहेका छन् ।

यस्तै झापा, मोरङ, सुनसरी, चितवन, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व), कैलाली र कञ्चनपुरलाई अद्यावधिक रहनुपर्ने जिल्लाको सूचीमा राखिएको छ । 

प्राधिकरणले चर्को घाम लागेको बेला वा दिउँसो सकेसम्म घरबाहिर ननिस्कन, बाहिर निस्कँदा छाता वा टाउको छोप्ने सामग्री प्रयोग गर्न, प्रशस्त पानी पिउन, हल्का तथा खुला कपडा लगाउन र बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीको विशेष हेरचाह गर्न आग्रह गरेको छ ।

त्यस्तै खेतीपाती तथा अन्य बाहिरी काम बिहान वा साँझको अपेक्षाकृत शीतल समयमा गर्न, विद्यालय सञ्चालन गर्दा आवश्यक परे समय व्यवस्थापन गर्न तथा स्वास्थ्य समस्या देखिए तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि प्राधिकरणले अनुरोध गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्