
अध्ययन तथा असाधारण बिदा लिएर लामो समयदेखि सम्पर्कविहीन भएका तथा बिदा अवधि सकिएपछि पनि कार्यस्थलमा नफर्किएका निजामती कर्मचारीहरूलाई सरकारले कारबाहीको चेतावनी दिएको छ ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै त्यस्ता कर्मचारीहरूलाई ३ दिनभित्र अनिवार्य रूपमा आफ्नो विवरण अद्यावधिक गर्न र सम्पर्कमा आउन निर्देशन दिएको हो ।
मन्त्रालयका अनुसार अध्ययन वा असाधारण बिदा स्वीकृत गराई बिदामा बसेका केही कर्मचारीहरू बिदाको अवधि सकिए पनि नियमानुसार सम्बन्धित कार्यालयमा हाजिर भएका छैनन् । कतिपय कर्मचारी लामो समयदेखि कार्यालयको सम्पर्कमै नरहेको र बिदा सकेर नियमित काममा फर्किएका कतिपयले पनि राष्ट्रिय किताबखाना (निजामती) मा आफ्नो व्यक्तिगत विवरण (पीआईएस) अद्यावधिक नगरेको गुनासो प्राप्त भएपछि मन्त्रालयले यो कडा कदम चालेको हो ।
मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘अध्ययन बिदा तथा असाधारण बिदासम्बन्धी आफ्नो अभिलेख राष्ट्रिय किताबखाना (निजामती)मा अद्यावधिक नभएका कर्मचारीहरूले यो सूचना प्रकाशित भएको तीन दिनभित्र अनिवार्य रूपमा विवरण अद्यावधिक गराउनु पर्नेछ ।’
यसैगरी मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय र केन्द्रीय स्तरका का
लयहरूलाई पनि आफ्ना मातहतका कर्मचारीहरूको बिदा विवरण जाँच गर्न निर्देशन दिएको छ । विभिन्न समयमा बिदा स्वीकृत गराएका कर्मचारीहरूको विदा अवधि सकिएपछि उनीहरू हाजिर भए/नभएको यकिन गरी राष्ट्रिय किताबखानासँगको समन्वयमा ३ दिनभित्रै विवरण अद्यावधिक गराउन भनिएको छ ।
बिदाको अवधि सकिएपछि पनि कार्यालयमा हाजिर नहुने र लामो समयदेखि सम्पर्कविहीन रहेका कर्मचारीहरूलाई कानून बमोजिम आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइने मन्त्रालयका प्रवक्ता एवं सहसचिव एकदेव अधिकारीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।