
उत्तर अमेरिकाको मेक्सिको सिटीस्थित ऐतिहासिक 'इस्टाडियो एस्टेका' रङ्गशालामा फिफा विश्वकप २०२६ को औपचारिक उद्घाटन भएको छ।
नेपाली समयअनुसार बिहीबार राति मेक्सिको र दक्षिण अफ्रिकाबीचको पहिलो खेल हुनुअघि एक भव्य र रंगीन समारोहका बीच विश्वकपको उद्घाटन भएको हो ।
उद्घाटन समारोह सांगीतिक र सांस्कृतिक हिसाबले निकै आकर्षक रहेको थियो। विश्वप्रसिद्ध गायिका साकिरा, गायक जे बाल्भिन, एन्ड्रिया बोसेली र बर्ना बोय जस्ता कलाकारहरूले आफ्ना उत्कृष्ट प्रस्तुति दिएका थिए। विशेषगरी फिफा थिममा सजिएका 'लाबुबु' पात्रहरूले मञ्चमा आएर गायक जे बाल्भिनलाई परिचय गराउँदा दर्शकहरू निकै उत्साहित देखिएका थिए। समारोहमा स्वदेशी संस्कृति झल्काउने भेषभूषाका साथै अत्याधुनिक 'कस्मिक' पोशाक पहिरिएका कलाकारहरूको नृत्य र भव्य आतिशबाजीले रङ्गशालाको माहोल उत्सवमय बनाएको थियो।
४८ टोली सहभागी हुने यस ऐतिहासिक विश्वकपमा यसपटक १६ वटा सहरहरूमा १०४ खेलहरू सञ्चालन हुनेछन्।
यसैबिच सुरक्षाको दृष्टिकोणले यो विश्वकप अहिलेसम्मकै कडा पारिएको छ। अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) र स्थानीय सुरक्षा निकायहरूले संयुक्त रूपमा ड्रोन विरोधी प्रविधि, बम स्क्वाड र एआई-पावर्ड सुरक्षा क्यामेराहरूको प्रयोग गरी सुरक्षा व्यवस्था मजबुत बनाएका छन्।







