
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारी अन्तिम चरणमा पुर्याएको छ। प्रदेशका विषयगत मन्त्रालयहरूलाई तोकिएको बजेट सिलिङ बजेट सूचना प्रणालीमा प्रविष्टि गर्ने काम भइरहेको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार चालु खर्चको विवरण प्रविष्टि सम्पन्न भइसकेको छ भने पुँजीगत कार्यक्रम तथा योजनाहरू समावेश गर्ने काम अन्तिम चरणमा पुगेको छ। आर्थिक विधेयक, विनियोजन विधेयक र बजेट वक्तव्य तयारीसमेत जारी रहेको जनाइएको छ।
उत्पादन तथा उत्पादकत्व वृद्धि, रोजगारी सृजना, कृषि, पर्यटन र सुशासनलाई प्राथमिकतामा राखेर बजेट ल्याइने तयारी गरिएको छ। प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ।