
भारत सरकारको सहयोगमा हुम्लाको चंखेली गाउँपालिका २ मा बन्ने नेपाल–भारत मैत्री अस्पताल भवनको शिलान्यास गरिएको छ ।
भारत सरकारको १४.८ करोड नेपाली रुपैयाँमा निर्माण हुने अस्पतालको जेठ २८ गते (बिहीबार) शिलान्यास गरिएको हो । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयन हुम्लाको चंखेली गाउँपालिकामार्फत गरिने भारतीय दूतावासले जनाएको छ ।
शिलान्यास कार्यक्रममा चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाही तथा अन्य सरोकारवालाहरूले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गरेका थिए । यो नयाँ संरचनाले चंखेली गाउँपालिकामा स्वास्थ्य सेवाहरूमा राम्रो पहुँच पुर्याउन मद्दत गर्ने विश्वास उनीहरूको थियो ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले एक भिडियो सन्देशमार्फत परियोजनाका सम्पूर्ण सरोकारवालाहरूलाई शुभकामना व्यक्त गरे । साझा विकास र समृद्धि हासिल गर्न नेपाल सरकार र नेपाली जनतासँग मिलेर काम गर्ने भारत सरकारको दृढ प्रतिबद्धतालाई उनले दोहोर्याए ।

उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रमको शुरूआत भएयता नेपालका ७ वटै प्रदेश र ७४ वटा जिल्ला समेट्ने गरी करिब ६०० वटा परियोजना सञ्चालन गरिएका छन् ।
नेपाल–भारत मैत्री अस्पताल भवन परियोजना हुम्लामा तेस्रो उच्च प्रभाव सामुदायिक विकास परियोजना हो ।
यसअघि भारत सरकारले सर्केगाडस्थित श्री सरस्वती माध्यमिक विद्यालयको हाताभित्र पुस्तकालय भवन निर्माणका लागि र चंखेली–दार्मास्थित श्री महादेव उच्च माध्यमिक विद्यालयमा प्रयोगशाला तथा पुस्तकालय भवन निर्माण गर्न अनुदान सहयोग उपलब्ध गराएको थियो ।
भारत सरकारले सन् २०२४ जुलाईमा हुम्ला जिल्लाका चंखेली, सर्केगाड र सिमकोट गाउँपालिकाका निर्वाचित प्रतिनिधिहरू सम्मिलित १० सदस्यीय टोलीका लागि भारतमा अध्ययन भ्रमणको पनि आयोजना गरेको थियो ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ ।
उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकास गर्नुका साथै विकास र समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासलाई सुदृढ पार्न भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्ने दूतावासले जनाएको छ ।
