
मेटा अन्तर्गतका सामाजिक सञ्जाल फेसबुक र मेसेन्जरमा शुक्रबार विश्वव्यापी रूपमा प्राविधिक समस्या देखिएको छ। शुक्रबार साँझदेखि फेसबुक एप र वेबसाइट दुवैले काम गर्न छाडेपछि प्रयोगकर्ताहरू समस्यामा परेका छन्।
प्रयोगकर्ताहरूका अनुसार फेसबुक चलाउँदाचलाउँदै आफैं 'लगआउट' हुने समस्या देखिएको छ। पुनः लगइन गर्न खोज्दा अप्रत्याशित त्रुटि भन्ने सन्देश देखिने गरेको छ।
यस्तै, फेसबुकको मुख्य वेबसाइट खोल्दा केही समस्या भएको र कम्पनीले यसलाई चाँडोभन्दा चाँडो समाधान गर्न काम गरिरहेको भन्ने सन्देश देखाइएको छ।
फेसबुकसँगै मेसेन्जरमा पनि सन्देश आदानप्रदान गर्न समस्या देखिएको छ। मेटाकै अन्य सेवाहरू जस्तै इन्स्टाग्राम र ह्वाट्सएप भने धेरै हदसम्म सञ्चालनमै रहेका छन्। यद्यपि, इन्स्टाग्रामको वेबसाइट संस्करणमा केही प्राविधिक समस्या देखिएको प्रयोगकर्ताहरूले बताएका छन्।
वेबसाइटहरूको अवरोध ट्र्याक गर्ने पोर्टल 'डाउनडिटेक्टर' का अनुसार शुक्रबार साँझदेखि फेसबुकमा समस्या देखिन सुरु भएको थियो। रोचक कुरा के छ भने, फेसबुक डाउन भएकै समयमा अत्यधिक ट्राफिकका कारण डाउनडिटेक्टर वेबसाइट आफैं पनि केही समयका लागि अवरुद्ध हुन पुगेको थियो।
मेटाले समस्याबारे हालसम्म औपचारिक जानकारी गराएको छैन ।