
नेपाली कांग्रेसले पछिल्लो समय बढ्दै गएका सडक दुर्घटनाबारे गहिरो अध्ययन गर्न तत्काल कार्यदल गठन गर्न सरकारसँग माग गरेको छ।
कांग्रेस सभापति गगनकुमार थापाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै काभ्रेपलाञ्चोक र धनकुटामा भएका बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै यस्ता घटनाको कारण पहिचान गरी न्यूनीकरणका उपाय सुझाउन कार्यदल गठन गर्नुपर्ने बताएका हुन्।
शुक्रबार काभ्रेको नमोबुद्धमा बनेपाबाट रोशी गाउँपालिकातर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने १६ जना घाइते भएका छन्। त्यसैगरी संखुवासभाबाट सुनसरीको धरानतर्फ जाँदै गरेको यात्रुवाहक बस धनकुटाको च्याङच्याङबारीमा दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन्।
सभापति थापाले दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। उनले घाइतेहरूको उपचारको उचित प्रबन्ध मिलाउन सरकारसँग आग्रह गरेका छन्।