
तीन दशकभन्दा लामो समयपछि आफ्नो घरेलु मैदानमा फिफा विश्वकप खेलिरहेको अमेरिकाले २३औँ संस्करणमा उत्साहजनक शुरूआत गरेको छ ।
शनिबार बिहान हजारौँ घरेलु समर्थकमाझ खेलिएको आफ्नो पहिलो खेलमा अमेरिकी टोलीले दक्षिण अमेरिकी प्रतिद्वन्द्वी पाराग्वेलाई ४–१ गोलले हराएको हो । विश्वकपमा यो अमेरिकाले सबैभन्दा बढी गोल गरेको खेल हो ।
पराग्वेविरुद्धको खेलको सातौँ मिनेटमै अमेरिकाले अग्रता लिएको थियो । अमेरिकाले यो अग्रता पाराग्वेका खेलाडीबाट भएको आत्मघाती गोलमार्फत पाएको थियो ।
अमेरिकी कप्तान क्रिस्टियन पुलिसिकले पराग्वेको रक्षापंक्तिलाई चलाखीपूर्वक छक्याउँदै बल अगाडि बढाएका थिए ।
उनले पेनाल्टी बक्सको बिचमा रहेका वेस्टन म्याकेनीलाई सुन्दर पास उपलब्ध गराए । म्याकेनीको प्रहार पराग्वेका डिफेन्डर डामियन बोबाडिल्लासँग ठोक्किएर गोलमा परिणत हुन पुग्यो ।
निर्धारित समयको ३१औँ मिनेटमा फोलारिन बालोगनले गोल गर्दै अमेरिकाको अग्रता दोब्बर बनाए। त्यसको केही मिनेटअघि मात्र उनको एक गोल अफसाइडका कारण रद्दको थियो ।
पुलिसिकको सटीक पासलाई पेनाल्टी बक्सभित्र नियन्त्रणमा लिँदै बालोगनले संयमित तरिकाले बललाई जाली चुमाए । आफ्नो पहिलो फिफा विश्वकप खेलमै गोल गरेका बालोगनका लागि यो क्षण अविस्मरणीय बन्न पुग्यो ।
आफ्नो पहिलो विश्वकप खेलमै बालोगनको जादुमयी प्रर्दशन गरे । उनले पहिलो हाफको इन्ज्युरी समयको पाँचौँ मिनेटमा व्यक्तिगत दोस्रो गोल थप्दै रंशालामा उपस्थित हजारौँ दर्शकलाई रोमाञ्चित पारे ।
पराग्वेको रक्षापँक्तिको गल्तीको फाइदा उठाउँदै बल नियन्त्रणमा लिएका बालोगनले पेनाल्टी बक्स भित्रबाट निकै उत्कृष्ट फिनिसिङ गर्दै बललाई पोस्टको माथिल्लो कुनाबाट जाली चुमाएका थिए ।
यो गोललाई जारी विश्वकपकै उत्कृष्ट गोलको दाबेदारका रूपमा पनि हेरिएको छ । घरेलु टोली शुरूदेखि नै निकै उच्च मनोबलसहित मैदानमा प्रस्तुत भएको थियो ।
पहिलो हाफमै ३–० गोलको अग्रता लिएको अमेरिकाले दोस्रो हाफमा एक गोल खायो । पाराग्वेका लागि एकमात्र गोल माउरिसियोले गरे ।
खेलको ७३औँ मिनेटमा पाराग्वेका जुलियो एन्सिजोले पेनाल्टी बक्सभित्र अगाडि बढिरहेका माउरिसियोलाई सुन्दर पास उपलब्ध गराए । माउरिसियोले अमेरिकी गोलरक्षक म्याट फ्रिजलाई छक्याउँदै बललाई जाली चुमाएका थिए ।
यसैगरी, दोस्रो हाफको इन्जुरी समयको आठौँ मिनेटमा अमेरिकाका लागि जियोभानी रेयनाले चौथो गोल गरे ।
जितसँगै अमेरिका तीन अंक बटुलेर समूह ‘डी’ तालिकाको पहिलो स्थानमा छ । अस्ट्रेलिया र टर्की पनि यही समूहमा छन् ।
अमेरिकाले अब जुन १९ मा अस्ट्रेलिया र जुन २५ मा टर्कीको सामना गर्नेछ । पाराग्वेले भने जुन १९ मा टर्की र जुन २५ मा अस्ट्रेलियाको सामना गर्नेछ ।