
सुर्खेतमा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई नेपालगञ्ज हुँदै काठमाडौं ल्याइँदैछ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई पठाएको पक्राउ पुर्जी अनुसार पौडेल सोमबार साँझ सवा ५ बजे पक्राउ परेका थिए ।
उनलाई सुर्खेतको वीरेन्द्रनगरस्थित शुभ होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी कविन्द्र सिंह बोहराले जनाएका छन् ।
विभागले उनलाई पक्राउ गरि बुझाउन जिप्रका सुर्खेतलाई पत्र पठाएको थियो । सोही पत्रका आधारमा समातिएका पौडेललाई प्रहरी निरीक्षक श्याम प्रसाद यादवको टोलीले काठमाडौं ल्याउँदैछ ।
सुर्खेतबाट बेलुका जहाज नचल्ने हुँदा उनलाई नेपालगञ्ज विमानस्थल हुँदै काठमाडौं ल्याउने तयारी गरिएको हो ।
पूर्वउपप्रधानमन्त्री एवं पूर्वअर्थमन्त्री समेत रहेका पौडेल पार्टी कामको सिलसिलामा सुर्खेतमा थिए ।