०७ साउन २०८३, बिहीबार
फिफा विश्वकप–२०२६

फ्रान्सको आँखा नकआउट चरणमा, इराकका लागि ‘गर या मर’को अवस्था

असार ८, २०८३
काठमाडौं
फ्रान्सको आँखा नकआउट चरणमा, इराकका लागि ‘गर या मर’को अवस्था

सन् २०२६ को फिफा विश्वकपको समूह ‘आई’अन्तर्गत मंगलबार बिहान खेलिने खेलमा विश्व फुटबलको महाशक्ति फ्रान्स र एसियाली टोली इराक आमने–सामने हुँदैछन् ।

इराक र फ्रान्सबीचको खेल अमेरिकाको बोस्टनस्थित रंगशालामा नेपाली समयअनुसार, बिहान ०२:४५ बजे शुरू हुनेछ ।

यो खेल फ्रान्सका लागि नकआउट चरणको यात्रा सुनिश्चित गर्ने गतिलो अवसर हो भने इराकका लागि प्रतियोगितामा कायमै रहने कठिन चुनौती ।

गत संस्करणको उपविजेता फ्रान्सले आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध ३–१ गोलको शानदार जित निकालेको थियो ।

त्यो खेलको पहिलो हाफमा केही सुस्त देखिएको फ्रान्सेली टोली दोस्रो हाफमा पूर्ण रूपमा लयमा फर्किएको थियो ।

खासगरी टोलीका स्टार स्ट्राइकर किलियन एम्बाप्पेको दुई गोलले टोलीलाई जित दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।

अर्को एक गोल ब्राड्ली बार्कोलाले गरेका थिए । एम्बाप्पेले हालसम्म विश्वकपमा १४ गोल गरिसकेका छन् । उनी विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीभन्दा केवल दुई गोलले पछि छन् ।

टोलीका मुख्य प्रशिक्षक डिडियर डेसच्याम्पस इराकविरुद्धको खेलमा टोलीमा केही रणनीतिक परिवर्तन गर्ने तयारीमा छन् ।

रिपोर्टहरूका अनुसार, सेनेगलविरुद्ध बेन्चबाट आएर गोल गरेका ब्राडली बार्कोलालाई शुरूआती–११ मै मौका दिइने सम्भावना छ ।

यसैगरी, डिफेन्समा लुकास डिग्ने र मिडफिल्डमा मानु कोनेसँगै एड्रिएन राबिओटलाई जिम्मेवारी दिने बलियो सम्भावना छ ।

अर्कोतिर, सन् १९८६ पछि पहिलोपटक विश्वकपमा छनोट भएको इराकका लागि यो संस्करण निकै कठिन सावित भइरहेको छ ।

पहिलो खेलमै नर्वेसँग १–४ गोलको ठूलो अन्तरले पराजित भएको इराकले समूहकै अर्को बलियो टोली फ्रान्सको सामना गर्दा थप दबाब झेल्नु पर्नेछ ।

त्यसैले यो खेल इराकका लागि आफ्नो अस्तित्व जोगाउने गतिलो अवसर हो । इराकका प्रशिक्षक ग्राहम आर्नोल्डका लागि पनि यो खेल निकै चुनौतीपूर्ण छ ।

तथ्यांक विश्लेषक ‘ओप्टा’को सुपर कम्प्युटरले फ्रान्सको जित्ने सम्भावना ८८.५ प्रतिशत देखाएको छ, जबकि इराकको जितको सम्भावना केवल तीन प्रतिशत छ ।

चोटका कारण नर्वेविरुद्ध मैदान बाहिरिएका फरवार्ड अली जासिम फ्रान्सविरुद्धको खेलका लागि मैदानमा उपलब्ध रहने अनुमान गरिएको छ ।

यसैगरी, टोलीका कप्तानसमेत रहेका गोलरक्षकमा जलाल हसनको स्थानमा अहमद बासिलले मौका पाउने सम्भावना पनि उत्तिकै छ ।

अहिले समूह ‘आई’मा रहेका चारवटै टोलीले एक–एक खेलमात्र खेलेका छन् । तालिकामा नर्वे तीन अंकसहित शीर्ष स्थानमा छ ।

समान तीन अंक बटुलेको फ्रान्स गोलअन्तरका आधारमा दोस्रो स्थानमा आसिन छ । आफ्नो पहिलो खेलमै पराजित भएका सेनेगल र इराक अंकविहीन छन् ।

हरेक समूहबाट शीर्ष दुई टोली र तेस्रो स्थानमा रहने उत्कृष्ट आठ टोली प्रतियोगिताको अन्तिम–३२ मा प्रवेश गर्ने प्रावधान छ ।

समूह ‘आई’को अर्को खेल पनि मंगलबार बिहान नर्वे र सेनेगलबीच खेलिने छ । यो खेल बिहान ०५:४५ बजे अमरिकाको न्यू योर्कस्थित मेटलाइफ स्टेडियममा शुरू हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्