
युरोप महाद्वीप यतिबेला इतिहासकै सबैभन्दा भीषण गर्मीको चपेटामा परेको छ। जुन २१ देखि शुरू भएको अत्यधिक गर्मीका कारण युरोपभर हालसम्म १,३०० भन्दा बढी मानिसको मृत्यु भइसकेको बीबीसीले जनाएको छ ।
विश्व स्वास्थ्य संगठन (ड्ब्ल्यूएचओ)का प्रमुख टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्स (एक्स) मा पोस्ट गर्दै युरोपमा अत्यधिक तापक्रमका कारण १,३०० भन्दा बढी मृत्यु रेकर्ड गरिएको पुष्टि गरेका छन् । फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार फ्रान्समा मात्रै सामान्य औसतभन्दा करिब एक हजार बढी मानिसको मृत्यु भएको छ।
अधिकारीहरूका अनुसार ज्यान गुमाउनेहरूमध्ये ८५ प्रतिशतभन्दा बढी ६५ वर्षमाथिका वृद्धवृद्धा छन् र सबैभन्दा बढी मृत्यु घरभित्रै भएको छ।
समाचार एजेन्सी एएफपीका अनुसार आइतबार युरोपका करिब १९.१ करोड मानिसले ३५ डिग्री सेल्सियस वा सोभन्दा बढी तापक्रमको सामना गर्नुपरेको थियो । गर्मीका कारण कतै सडकहरू पग्लिरहेका छन्, कतै विद्यालयहरू बन्द गरिएका छन् भने कतै जङ्गलमा भीषण डढेलो लागेको छ।
जर्मनीमा लगातार तेस्रो दिन इतिहासकै सबैभन्दा बढी गर्मीको रेकर्ड तोडिएको छ। पोल्यान्डको सीमा नजिकै रहेको पूर्वी ब्रान्डेनबर्गको कोस्चेनमा तापक्रम ४१.७ डिग्री सेल्सियस पुगेको हो । अत्यधिक गर्मीका कारण जर्मनीका कतिपय राजमार्गका सडकहरू पग्लिन र भत्किन थालेका छन् भने धेरै खेलकुद तथा साङ्गीतिक कार्यक्रमहरू रद्द गरिएका छन् । कुबशुट्स सहरमा रातको तापक्रम २९.४ डिग्री सेल्सियसभन्दा तल झरेन, जुन १५० वर्षयताकै सबैभन्दा तातो रात हो ।
फ्रान्सको पिसोस सहरमा तापक्रम ४४.३ डिग्री सेल्सियस पुगेको छ। राष्ट्रिय स्तरमा औसत तापक्रम ३० डिग्री सेल्सियस पार गरेको छ, जुन फ्रान्सको इतिहासकै सबैभन्दा तातो दिन हो । गर्मीका कारण ट्रेनहरू रोकिएका छन् भने पावर ग्रिडमा समस्या आउँदा ५० हजारभन्दा बढी घरहरू अन्धकारमा परेका छन् । गर्मीका कारण पानीका स्रोतहरूमा पौडी खेल्ने क्रममा कम्तीमा ७४ जनाको डुबेर मृत्यु भएको छ ।
पोल्यान्डले पनि आफ्नो इतिहासकै सबैभन्दा बढी तापक्रम ब्याकअप गर्दै स्लुबिस सहरमा ४०.५ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरेको छ।
स्पेन यतिबेला युरोपको सबैभन्दा तातो देश बनेको छ। त्यहाँको एन्डुआन सहरमा तापक्रम ४५.१ डिग्री सेल्सियस पुगेको छ। खडेरी र गर्मीका कारण जङ्गलमा भीषण डढेलो सल्किएपछि धेरै सहरहरू खाली गराइएका छन्।
बेलायतको इतिहासमा पहिलो पटक लगातार तीन दिनसम्म 'रेड वार्निंग' जारी गरिएको छ। जुन महिनाको ५० वर्ष पुरानो रेकर्ड यस हप्ता लगातार तीन पटक तोडिँदै दक्षिणी इङ्गल्यान्डमा पारा ३६.४ डिग्री सेल्सियस पुगेको छ। गर्मीका कारण अस्पतालहरूमा आकस्मिक अवस्था घोषणा गरिएको छ भने १,००० भन्दा बढी विद्यालय बन्द छन्।
चिसो देशका रूपमा चिनिने डेनमार्कमा १८७४ यताकै उच्च ३७ डिग्री सेल्सियस तापक्रम पुगेको छ। सडक पग्लिन थालेपछि भारी सवारी साधनलाई प्रतिबन्ध लगाइएको छ।
स्विट्जरल्यान्डको बासेलमा ३८.८ डिग्री सेल्सियस तापक्रम पुगेको छ र त्यहाँका हिमनदीहरू रेकर्ड गतिमा पग्लिरहेका छन्। पुर्चुगलमा पनि तापक्रम ४० डिग्री पार भएपछि जङ्गलमा डढेलो लाग्न सक्ने उच्च सतर्कता अपनाइएको छ।

किन यति छिटो तातिरहेको छ युरोप ?
वैज्ञानिकहरूका अनुसार युरोप महाद्वीप विश्वको औसत तापक्रमको तुलनामा दोब्बर गतिले तातिरहेको छ। डब्ल्यूएचओका प्रमुख टेड्रोसका अनुसार जलवायु परिवर्तन र ग्लोबल वार्मिङका कारण पहिले 'पुस्तामा एक पटक' आउने यस्तो हिटवेभ अब लगभग हरेक वर्ष देखिन थालेको छ।
यस पटकको भीषण गर्मीको मुख्य कारण 'हिट डोम' प्रभाव हो। यस मौसमी प्रणालीमा वायुमण्डलको हावा तलतिर थिचिने गर्छ, जसका कारण हावा कम्प्रेस भएर जमिनको सतहमा आउँदा अत्यधिक तातो हुन्छ। यो वायुले आकाशमा बादल बन्न दिँदैन, जसका कारण सीधा र कडा सूर्यको प्रकाशले जमिनलाई झन् धेरै तताउँछ।
जब दक्षिण एसियाली देश भारतमा तापक्रम ४३ डिग्री सेल्सियस पुग्छ, मानिसहरू यसलाई सामान्य गर्मी मान्दै टाउकोमा गम्छा बाँधेर, सितल पेय पदार्थ पिउँदै काममा निस्कन्छन्। तर जब यही तापक्रम युरोपमा ४० डिग्री पार गर्छ, त्यहाँ रेड अलर्ट जारी हुन्छ र राष्ट्रिय विपद् घोषणा गरिन्छ। यसको पछाडि भूगोल, पूर्वाधार र मानव शरीरको अनुकूलनको विज्ञान लुकेको छ ।
युरोपका घर र भवनहरू जाडो महिनामा भित्रको तातोपना बाहिर नजाओस् र कम हिटिङ आवश्यक परोस् भन्ने उद्देश्यले बनाइएका हुन्छन्। तर जब त्यहाँ अत्यधिक गर्मी पर्छ, यी घरहरू 'ओभन' जस्तै काम गर्न थाल्छन्। गर्मी भित्र त पस्छ, तर बाहिर निस्कन पाउँदैन। युरोपका अधिकांश विद्यालय र कार्यस्थलहरूमा एसीको व्यवस्था हुँदैन।
एसिया या अन्य देशका मानिसहरूको शरीर सानैदेखि उच्च तापक्रम सहन अभ्यस्त हुन्छ। उनीहरूको 'थर्मोरेगुलेसन सिस्टम' बलियो हुन्छ र गर्मी बढ्ने बित्तिकै पसिना निकालेर शरीरलाई तत्काल चिसो बनाउँछ। तर युरोपका मानिसहरूको शरीर सधैँ कम तापक्रममा बस्ने बानी परेको हुन्छ। अचानक ४० डिग्रीको गर्मी हुँदा उनीहरूको शरीरले यो झटका सहन सक्दैन, जसले गर्दा हिट स्ट्रोक, डिहाइड्रेसन र अङ्गहरू फेल हुने जोखिम तीव्र हुन्छ।