०७ साउन २०८३, बिहीबार
निगमको निर्णय

पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती : डिजेल, पेट्रोल र ग्यासको भाउ कति सस्तियो ?

असार १६, २०८३
काठमाडौं
पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती : डिजेल, पेट्रोल र ग्यासको भाउ कति सस्तियो ?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती गरेको छ । निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य घटाउने निर्णय गरेको हो । नयाँ मूल्य बुधबार बिहानखि देशभर लागू हुने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

निगमका अनुसार अब पेट्रोलमा प्रति लिटर २० रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर ३० रुपैयाँले मूल्य घटाइएको छ । यससँगै काठमाडौं, पोखरा र दिपायल जस्ता तेस्रो वर्गका क्षेत्रहरूमा अब पेट्रोलको मूल्य प्रति लिटर १९७ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेल १९५ रुपैयाँमा उपलब्ध हुनेछ । 

खाना पकाउने एलपी ग्यासको मूल्यमा पनि प्रति सिलिन्डर १०० रुपैयाँले गिरावट आएको छ । अब उपभोक्ताले प्रति सिलिन्डर (१४.२ केजी) २ हजार ६० रुपैयाँमा ग्यास खरिद गर्न पाउनेछन् । यसअघि यसको मूल्य २ हजार १६० रुपैयाँ तोकिएको थियो । 

हवाई इन्धनमा आन्तरिकतर्फ प्रति लिटर ४० रुपैयाँले मूल्य घटाएर २२९ रुपैयाँ कायम गरिएको छ भने अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर २६५ अमेरिकी डलरले घटाइएको छ ।

इण्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यमा पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटेर आएकाले स्वचालित मूल्य प्रणाली बमोजिम यो समायोजन गरिएको निगमले जनाएको छ । 
 

कमेन्ट गर्नुहोस्