०४ साउन २०८३, सोमबार
विश्वकप

१० खेलाडीमा सीमित अमेरिकाको बोस्नियामाथि शानदार जित

असार १८, २०८३
काठमाडौं
१० खेलाडीमा सीमित अमेरिकाको बोस्नियामाथि शानदार जित

फिफा विश्वकप अन्तर्गत अन्तिम ३२ को खेलमा बोस्निया-हर्जगोभिनालाई २-० ले पराजित गर्दै आयोजक संयुक्त राज्य अमेरिका प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ। 

सान फ्रान्सिस्को वे एरिया स्टेडियममा बिहीबार बिहान सम्पन्न खेलमा अमेरिकाले १० खेलाडीमा सीमित भए पनि उत्कृष्ट प्रदर्शन गर्दै जित सुनिश्चित गर्‍यो।

खेलको पहिलो हाफको अन्तिम समय अर्थात् ४५औं मिनेटमा फोलारिन बालोगनले गोल गर्दै अमेरिकालाई सुरुवाती अग्रता दिलाएका थिए। यद्यपि, नायक बनेका बालोगन खेलको ६४औं मिनेटमा खलनायक सावित भए। 

मुहरेमोभिकमाथि गरेको एक गम्भीर फलका कारण उनले सिधै रातो कार्ड पाउँदै मैदान छोड्नुपर्‍यो। यससँगै बालोगन सन् २००६ को विश्वकप फाइनलमा जिनेदिन जिदानपछि विश्वकपको नकआउट खेलमा गोल गर्ने र रातो कार्ड पाउने पहिलो खेलाडी बनेका छन्।

एक खेलाडी कम भएपछि बोस्नियाले अमेरिकामाथि दबाब बढाउने प्रयास गरेको थियो। तर, खेलको ८२औं मिनेटमा मलिक टिलम्यानले फ्रि-किकमार्फत एक उत्कृष्ट गोल गर्दै घरेलु टोलीको जित पक्का गरे। टिलम्यानको प्रहार बोस्नियाली गोलकिपर निकोला भासिल्जको हातमा लाग्दै पोस्टको भित्र छिरेको थियो।

खेलको अन्तिम समयमा बोस्नियाका केरिम् अलाज्बेगोभिचले गोल गर्ने सुवर्ण अवसर पाए पनि उनको प्रहार पोस्टको थोरै बाहिरबाट गएको थियो। १० मिनेटको लामो इन्जुरी समय थपिए तापनि बोस्नियाले खेलमा पुनरागमन गर्न सकेन।

यस जितसँगै अमेरिकाले विश्वकपको नकआउट चरणमा जितका लागि गरेको २४ वर्ष लामो प्रतीक्षा समाप्त गरेको छ। अब अमेरिकाले क्वाटरफाइनल प्रवेशका लागि सियाटलमा बेल्जियमको सामना गर्नेछ। पराजित भएसँगै बोस्नियाको विश्वकप यात्रा भने अन्तिम ३२ मै टुङ्गिएको छ।

कमेन्ट गर्नुहोस्