
सिंहदरबारभित्र काम गर्ने सबै निजामती कर्मचारीलाई सिंहदरबारभित्रै निःशुल्क उपचार हुने भएको छ।
भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयको भवनको तल्लो तलामा शुक्रबारदेखि स्वास्थ्य सेवा इकाई सञ्चालनमा आएको हो।
निजामती कर्मचारीलाई सहज, छिटो र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सेवा इकाई सञ्चालनमा ल्याइएको मन्त्रालयका सूचना अधिकारी एवं नायब सुब्बा नवराज पराजुलीले लोकान्तरलाई जानकारी दिए ।
सिभिल अस्पतालको एउटा युनिट नै त्यहाँ राखेर उपचार सेवा दिन थालिएको हो। स्वास्थ्य जाँचको पहिलो सुविधा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले लिएकी थिइन्।

सेवा इकाईमार्फत प्रारम्भिक चरणमा रक्तचाप मापनसँगै शारीरिक तौल मापनको सुविधा उपलब्ध गराइएको छ। इकाई अपग्रेड भएसँगै कर्मचारीको थप स्वास्थ्य परीक्षण, रगत परीक्षणलगायतका आधारभूत स्वास्थ्य सेवाहरू उपलब्ध गराइने जानकारी नायब सुब्बा पराजुलीले बताए।
मन्त्रालयका अनुसार कार्यालयमै स्वास्थ्य सेवा उपलब्ध भएपछि कर्मचारीले समयमै स्वास्थ्य परीक्षण गराउन सक्ने, सेवाग्राहीले पनि आवश्यक प्रारम्भिक स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्न सक्ने छन्।
यस सेवाको सञ्चालनसँगै मन्त्रालय परिसरमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध हुने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।