
नेपाली कांग्रेसको संस्थापन इतर (शेरबहादुर देउवा, पूर्णबहादुर खड्का) समूहले १५औँ महाधिवेशन तयारीका लागि काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालय खोल्ने निर्णय गरेको छ ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा शुक्रबार बसेको संस्थापन इतर समूहको भेलाले असार २२ गते कार्यालय उद्घाटन गर्ने निर्णय गरेको हो ।
१४औँ महाधिवेशनबाट निर्वाचित समूहको आगामी बैठक त्यही कार्यालयमा बस्ने नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए ।
इतर समूहले सहमतिका प्रयास कमजोर हुँदै गएकोले १५औँ महाधिवेशन एउटै नहुन सक्ने निष्कर्ष समेत निकालेको छ । 'हामी अझै पनि सहमति गरेर १५औँ महाधिवेशन एउटै बनाऔँ भनिरहेका छौँ, तर आजको पोजिसनले एकताको महाधिवेशनका सम्भावना क्षीण भएका छन्,' विश्वकर्माले भने ।
विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएका गगन थापा नेतृत्वको समितिले असोजमा १५औँ महाधिवेशनको मिति तोकेको छ ।
विशेषको केन्द्रीय समिति र १४औँबाट निर्वाचित समितिलाई मर्ज गरेर आयोजक समिति बनाउनुपर्ने इतर समूहको बटमलाइन छ ।
महाधिवेशनको निष्पक्षताका लागि निर्वाचन समितिलगायतमा इतर समूहको प्रतिनिधित्व गराए पनि १४औँको केन्द्रीय समिति गाभ्न गगनले अस्वीकार गरेका छन् ।
सहमति नभए एउटै मितिमा छुट्टै महाधिवेशन गर्ने इतर समूहको तयारी छ । इतर समूहले सातवटै प्रदेशमा भेला सम्पन्न गरिसकेको छ ।