
फिफा विश्वकप २०२६ मा नर्वेले पाँच पटकको विश्व विजेता ब्राजिललाई २-१ गोल अन्तरले पराजित गरेको छ।
सोमबार बिहान न्यु जर्सी स्टेडियममा सम्पन्न अन्तिम १६ को खेलमा जित निकाल्दै नर्वे इतिहासमै पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको हो।
नर्वेको यो ऐतिहासिक जितमा स्टार स्ट्राइकर एर्लिङ हालान्ड नायक बने । उनले खेलको ७९ औं र ९० औं मिनेटमा दुई सानदार गोल गरे। पहिलो गोल ७९ औं मिनेटमा आन्द्रियास सेल्डरपको क्रसमा हेडरमार्फत गरेका हालान्डले दोस्रो गोल ९० औं मिनेटमा पेनाल्टी बक्स बाहिरबाट शक्तिशाली प्रहारमार्फत गरेका थिए।
यी दुई गोलसँगै हालान्ड जारी विश्वकपमा ७ गोल गर्दै सर्वाधिक गोलकर्ता (गोल्डेन बुट) को दौडमा लियोनेल मेस्सी र केलियन एमबाप्पेको बराबरीमा पुगेका छन्।
ब्राजिलका लागि यो रात निकै निराशाजनक रह्यो। खेलको १४ औं मिनेटमै ब्राजिलले अग्रता लिने सुवर्ण अवसर पाएको थियो, तर ब्रुनो गुइमारेसले प्रहार गरेको पेनाल्टीलाई नर्वेका गोलकिपर ओर्जन निल्याण्डले उत्कृष्ट बचाउ गरे।
खेलभरि आक्रामक देखिए पनि ब्राजिलले फिनिसिङमा निकै संघर्ष गर्यो।
खेलको इन्जुरी समयको पनि अन्तिम क्षणमा ब्राजिलले पेनाल्टी पाएको थियो।
जसमा नेइमारले गोल गर्दै अन्तर घटाए पनि ब्राजिललाई हारबाट बचाउन त्यो पर्याप्त भएन। नेइमारको गोल लगत्तै रेफ्रीले खेल सकिएको सिट्टी बजाएका थिए।
सन् २००२ पछि विश्वकप जित्ने लक्ष्यका साथ मैदान उत्रिएको ब्राजिलको यात्रा यसपटक अन्तिम १६ मै टुङ्गिएको छ।