
भारतबाट चोरी गरेका मोटरसाइकल नेपाल ल्याई नक्कली सवारी दर्ता किताब (ब्लुबुक) तयार गरी बिक्री गर्ने गरेको खुलेको छ । चोरी गरी ल्याएका महँगो मूल्यका ‘बुलेट बाइक’लाई नक्कली सवारी दर्ता कागजात र नेपाली नम्बर प्लेट बनाएर वैधानिक सवारी सरह देखाई सर्वसाधारणलाई बेच्ने गरिएको रूपन्देही प्रहरीले फेला पारेको हो । प्रहरीलाई प्राप्त गोप्य सूचनाका आधारमा चलाइएको ‘सर्च’ अभियानबाट यो गिरोह नै फन्दामा परेको हो ।
प्रहरीले जिल्लाका विभिन्न स्थानबाट उक्त गिरोहमा संलग्नहरूलाई पक्राउ गरिएको जनाएको छ । प्रहरीले ६ वटा मोटरसाइकल र ३ वटा स्कुटर पनि नियन्त्रणमा लिएर बुधबार बिहान सार्वजनिक गरेको हो । समातिएका मोटरसाइकलमा एउटै नक्कली नम्बर प्लेट पनि बनाएको भेटिएको छ । रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनकबहादुर शाहीले यस्ता घटनामा संलग्नहरू विभिन्न अपराधमा संलग्न रहँदै आएका व्यक्तिहरू नै भेटिएको बताए ।
पक्राउ पर्नेमा पाल्पाको तानसेन नगरपालिका घर भई हाल बुटवल उपमहानगरपालिका–११, रुपन्देही बस्ने २९ वर्षीय अशोक सारू, बुटवल–१५ का १९ वर्षीय सरोज उपाध्याय र बुटवल–१३ बस्ने ३६ वर्षका महेन्द्र गुरुङ छन् ।
गुरुङ जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट मुद्दा दर्ता भई ५ वर्ष कैद भुक्तान गरी छुटेका व्यक्ति हुन् । त्यस्तै, चोरीमा संलग्न बुटवल–११ बस्ने २७ वर्षका विकास केसी रहेका छन् । उनी पनि इलाका प्रहरी कार्यालय बुटवलबाट १३ वर्ष अगाडि धरौटीमा छुटेका थिए ।
‘बुलेट बाइक ७५ हजारमा किनेका रहेछन् । हामीलाई झन् शङ्का भयो, त्यसपछि बुटवलको योगीकुटीस्थित विकास केसीकोमा गएर सर्च गर्दा अरू पनि ४ वटा नक्कली ब्लुबुक फेला परे । जसमा शाखा अधिकृतका नक्कली स्ट्याम्प र कार्यालयका छापहरू थिए । त्यहाँका सञ्चालकलाई पनि लिएर आएका छौँ,’ इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवास्तवले भने ।

प्रतिवादीहरूलाई चोरी तथा लिखतसम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान अघि बढेको डीएसपी श्रीवास्तवले जानकारी दिए । उनीहरूको घरबाट ल्यापटप र नक्कली नम्बर प्लेट बनाउने रङ्गीन प्रिन्टर पनि बरामद गरिएको छ । प्रहरीले सर्वसाधारणलाई मोटरसाइकल खरिद गर्दा सवारी दर्ता प्रमाणपत्र, इन्जिन र चेसिस नम्बर, राजस्व तथा दर्तासम्बन्धी विवरण सम्बन्धित निकायबाट अनिवार्य रूपमा यकिन गर्न आग्रह गरेको छ ।
त्यस्तै, बुटवलमा प्रहरीले सुनको सिक्री चोरी गर्ने गिरोह र चोरीका गहना किन्नेलाई पनि पक्राउ गरेको छ । सुनका गहना चोरी (सिक्री स्न्याचिङ) गरेको भनी प्रहरीमा आएको निवेदनका आधारमा चोरीमा संलग्न भारतको गोरखपुर बस्ने ३२ वर्षका राहुल जैसवाल, भारत उत्तर प्रदेश महाराजगञ्ज बस्ने २२ वर्षका प्रिन्स जैसवाल र भारतको बाल्मीकिनगर बस्ने २८ वर्षका नितेश मेहतालाई पक्राउ गरिएको हो । ती चोरीका गहना किन्ने रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५, भैरहवाका ३२ वर्षका प्रदीपकानु बानियाँ पनि पक्राउ परेका छन् ।
कानु बानियाँ यसअघि चोरीसम्बन्धी मुद्दामा ५० हजार जरिवाना भई मुद्दा फैसला भएका व्यक्ति रहेको डीएसपी श्रीवास्तवले बताए ।
यसैगरी यही असार १७ गते बुटवल–११, कालिका नगरस्थित 'द कन्सेप्ट क्लब' अगाडि गिरीराज राना र सुन्दर बगाले समेतलाई एक्कासि धारिलो हतियार चक्कु तथा हेलमेट प्रहार गरी गम्भीर घाइते बनाएर फरार रहेका बुटवल–११, बुद्धनगर बस्ने २९ वर्षका ‘आचे’ भन्ने सुमित गुरूङलाई पक्राउ गरिएको छ । गुरूङ ८ वर्ष कैद सजाय भुक्तान गरी २०८० असोजमा थुनामुक्त भएका व्यक्ति रहेको खुलेको छ ।
क्लबकै कारण आपराधिक घटना बढेकाले अब ‘द कन्सेप्ट क्लब’ लाई राति ११ बजेसम्म मात्र सञ्चालन गर्न प्रहरीले अनुमति दिएको छ । यसअघि यो क्लब राति दुई बजेसम्म सञ्चालन हुँदै आएको थियो । क्लबहरूका कारण समय–समयमा आपराधिक घटना बढ्दै गएपछि प्रहरीले निगरानी बढाएको हो । गुरूङलाई लुकिछिपी बसेको अवस्थामा दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–१९, बिजौरीबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान भइरहेको छ ।