
जारी फिफा विश्वकप २०२६ मा फ्रान्सेली टोली मैदानमा एउटा अजेय शक्तिका रूपमा प्रस्तुत भइरहेको छ । कतिपय फुटबल विश्लेषक र विपक्षी फ्यानहरूका लागि फ्रान्सको यो विजय यात्रा डरलाग्दो पनि बन्दै गएको छ।
बिहीबार राति मोरक्कोविरुद्धको २-० को क्वार्टरफाइनल जितले टोलीलाई लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा पुर्याएको छ।
मोरक्कोविरुद्धको खेलमा फ्रान्सले 'दोस्रो गियर' मै सीमित रहेर पनि कसरी खेल नियन्त्रणमा राख्न सकिन्छ भन्ने उत्कृष्ट नमुना प्रस्तुत गर्यो । रक्षापङ्क्तिमा निकै अनुशासित भनेर चिनिने मोरक्कन टोलीले पहिलो एक घण्टासम्म फ्रान्सका विश्वस्तरीय स्ट्राइकरहरूलाई रोकेर राखे । तर, फ्रान्सको ब्युटी नै यही हो कि उनीहरू विपक्षी थाक्ने समय पर्खन्छन् र सानो गल्तीको फाइदा उठाउँदै खेल आफ्नो पक्षमा पार्छन् ।
जब मोरक्कोको रक्षापङ्क्तिमा थोरै शिथिलता आयो, किलियन एम्बाप्पे र ओस्मान डेम्बेलेजस्ता 'फुटबल टाइटन्स'ले ६ मिनेटको अन्तरालमा दुई गोल गर्दै खेलको निर्णय गरिदिए । फ्रान्सले पाराग्वेविरुद्धको खेलमा शारीरिक चुनौती भोगे पनि यो टोलीलाई प्रतियोगिताबाट बाहिर निकाल्न सक्ने सामथ्र्य अहिलेसम्म कसैले देखाउन सकेका छैनन्।
यो विश्वकप व्यक्तिगत कीर्तिमानका हिसाबले पनि ऐतिहासिक मोडमा आइपुगेको छ। ६०औँ मिनेटमा गोल गर्दै एम्बाप्पेले चालू प्रतियोगितामा आफ्नो गोल सङ्ख्या ८ पुर्याएर अर्जेन्टिनी कप्तान लियोनेल मेसीसँगको बराबरी गरेका छन् ।
एम्बाप्पेले मात्र २० वटा विश्वकप खेलमा २० गोल गरिसकेका छन् । उनी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता मेसी (२१ गोल) भन्दा मात्र एक गोलले पछि छन् । मेसीले ६ वटा विश्वकप र ३१ खेल खेल्दा बनाएको कीर्तिमानलाई एम्बाप्पेले आफ्नो करियरको शुरूआती चरणमै भेट्टाउन लागेका हुन् ।
अब फ्रान्सको नजर सोफी स्टेडियममा हुने स्पेन र बेल्जियमबिचको क्वार्टरफाइनल भिडन्तमा छ। स्पेन यो खेलको स्वाभाविक दाबेदार हो। यदि स्पेन विजयी भएमा जुलाई १४ मा टेक्सासको आर्लिङ्टनमा फ्रान्स र स्पेनबीच 'महाभिडन्त' हुनेछ।
सन् २०२२ मा पेनाल्टी सुटआउटमा चुकेर 'थ्री-पिट' (लगातार तीन विश्वकप उपाधि)को अवसर गुमाएको फ्रान्स यसपटक कुनै पनि गल्ती दोहोर्याउने पक्षमा देखिँदैन । अब स्पेन वा बेल्जियमसँग फ्रान्सको यो अजेय गतिलाई रोक्न सक्ने कुनै रणनीतिक 'एन्टिडोट' छ ? यसको फैसला आगामी सेमिफाइनलले गर्नेछ ।